तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि (फोटोफिचर) 

बाँके । बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्ने पर्यटनको सङ्ख्या बढ्न थालेको छ।

प्राकृतिक बासस्थानमा वन्यजन्तु र प्राकृतिक सौन्दर्य नियाल्न विदेशीसँगै आन्तरिक पर्यटक बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने गरेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जमा विशेषगरि प्राकृतिक बासस्थानमा बाघ हेर्न आउने पर्यटकहरूको घुइँचो नै हुने गर्दछ। बाघसँगै निकुञ्ज मुख्यालय ठाकुरद्वारामा रहेको गोही प्रजनन केन्द्र , कछुवा , गैँडा , बाघ हात्ती एवम् थारु सांस्कृतिक सङ्ग्रहालय अवलोकनको लागि दैनिक एक सयभन्दा बढीको सङ्ख्यामा आन्तरिक पर्यटकहरूको भिड लाग्ने गर्दछ।

निकुञ्जभित्र जीप सफारी र पैदल मार्गबाटै पर्यटकहरूले विशेषसरि बाघ, हात्ती, गैँडा, तथा मृग प्रजाति एवम् जैविक विविधताको अवलोकन गर्ने गर्दछन् । 

कोभिडको महामारीपछि सुनसान रहेको बर्दियाको पर्यटन व्यवसाय बिस्तारै चलायमान हुन थालेको पर्यटन व्यवसायी रामबहादुर थापा बताउनुहुन्छ।

पर्यटकको सङ्ख्या बडेसँगै बर्दिया राष्ट्रिय निकुञ्जले गत वर्षको तुलनामा राजस्व समेत दोब्बर सङ्कलन गरेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्म ९ हजार ६ सय ९३ जनाले बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गरेका थिए भने १ करोड ११ लाख राजस्व सङ्कलन भएको थियो। 

त्यस्तै, चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा १२ हजार ३ सय ८२ जनाले बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गरेका छन् भने २ करोड १७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अशोक रामले जानकारी दिनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जमा विशेषसरि बाघ, हात्ती,गैँडालगायतका दुर्लभ वन्यजन्तुको सङ्ख्यामा वृद्धि हुनुको साथै विभिन्न फाँटहरूमा देखिने मृग प्रजातिले पर्यटकको मन लोभ्याउने गर्दछ। बर्दिया राष्ट्रिय निकुञ्ज बाघ लगायतका यिनै वन्यजन्तु एवम् प्राकृतिक सुन्दरता र जैविक विविधताको अवलोकन गर्नका लागि पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button