तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकको पर्खाइमा कार्मारोङ (फाेटाे फिचर)

मुगु  (गमगढी ) । मुगुकाे पूर्वी  करान  भेगकाे कार्मारोङ पर्यटकहरूको पर्खाइमा  रहेको छ ।

लामा समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा घुम्न आउने पर्यटकहरूको  सुविधाको  लागि चाहिने न्यूनतम पूर्वाधारहरू निर्माण भएसँगै यतिखेर करान भेग पर्यटकको पर्खाइमा रहेको  हो ।   

करान भेगको भ्रमण गर्न आउने पर्यटकहरूको सुविधाको लागि ५ वर्ष अघि एक गैरसरकारी संस्थाले मुगुम् कार्मारोङ गाउँपालिका वडा नं – ८ माग्री गाउँका  १ सय ७३ घरधुरी  मध्ये २५ घरधुरीलाई होमस्टे तालिम प्रदान गरेको थियो ।

 डोल्पा जिल्लाको से फोक्सुन्डो ताल घुम्न आउने विदेशी पर्यटकहरू रारा घुम्न आउँदा र  सोझै रारा ताल आएका पर्यटकहरू से फोक्सुन्डो ताल    जाँदा करानकै बाटो प्रयोग हुने भएकाले  पर्यटकीय दृष्टिकोणले करान भेगको महत्व धेरै रहेको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताउनु भयो ।  

पहिले  पाहुनालाई खान, बास बस्नको धेरै असुविधा हुने गरेकोमा  हाल करान भेगका १७ वटा  बस्तीका १४ सय घर मध्ये अधिकांश घरहरू  होमस्टेको रूपमा अगाडि बढेकाले गाउँमा आएका  पाहुनाको सहज व्यवस्थापन गर्न सकिने  लामाले बताउनु भयो ।

स्थानीय परिकार मकै,कोदो,काउनी, चिनोको परिकार, भोटे चिया, स्थानीय अन्नबाट बनेको पेय पदार्थ, लोकल कुखुरा र खसीको मासु, यार्सा र जङ्गली च्याउ , आलुको तरकारी , मौरीको मह , फापरको लगड लगायत स्थानीय परिकारहरू उपलब्ध हुने भएकाले पर्यटकको बसाई तथा घुमफिरका लागि यो क्षेत्र निक्कै सहज हुने अध्यक्ष लामाको  भनाई छ । हरेक वर्ष  बाटोको असहजता हुँदा हुँदै पनि  रारा र फोक्सुन्डो  हेर्न र घुम्नको निम्ति   ४० देखि ५० जना विदेशी पर्यटकहरू  ओहोर दोहोर गर्ने गरेको पनि  अध्यक्ष लामाले बताउनु भयो । 

सरकाले  करानमा स्वदेशी तथा विदेशी तथा पर्यटकहरूको आवागमनमा वृद्धि गर्नको लागि , फोक्सुन्डो–छायाँनाथ– रारा ताल जोड्ने पदमार्ग निर्माण गर्न सके   युवाहरूमा रोजगारी बढ्नुको साथै  आर्थिक समृद्धिमा टेवा मिल्ने पनि लामाको भनाई  छ ।

हाल फाटफुट रूपमा पर्यटक करान घुम्न आएपनि प्रचार प्रसार अभाव र यातायातको सहज पहुँच नहुँदा करानको सुन्दरता  सुन्दरतामै सीमित भएको   मुगुमकार्मारोङ– ८ का युवा छेवाङ तोर्चे लामाले बताउनु भयो ।  आफ्ना गाउँ माग्रीमा खोलिएका होमस्टेमा  पर्यटकहरू नआउँदा होमस्टेहरू सुनसान जस्तै बनेको पनि  लामाको भनाई छ ।

मुगुम् कार्मारोङ भ्रमणका लागि  मुगुको सदरमुकाम  गमगढी बजारबाट मुगुम् कार्मारोङको छाईल बजारसम्म नीजि  जिपबाट सवार हुन सकिन्छ त्यस पछि पैदल दुरीमा डेढ दिनमा उपल्लो मुगु पुग्न सकिन्छ ।

यस भेगमा पवित्र छायाँनाथ मन्दिर, विभिन्न गुम्बाहरू, हिम शृङ्खलाको दृश्य देखिनुका साथै यार्सा लगायत विभिन्न किसिमका जडीबुटीहरूसमेत पाईने गर्दछ । विभिन्न पाटन क्षेत्र, ताल तलैया, कोईकी हिमाल , दोल्फु तामा खानी, मुगु, कर्णाली नदीको उद्गम स्थल, दाउरा गाउँको ठुलो ढुङ्गा, चौँरी गाई, परम्परागत मौलिक संस्कृति, भोटे सेलो,  अन्नमा मार्से, चिनो, काउनी कोदो लगायतका स्थानीय उत्पादन यहाँको मुख्य आकर्षक बस्तु हुन् ।

उत्तरी सीमा तिब्बतसँग सडक सञ्जाल जोडी करान लगायत समग्र मुगु जिल्लाको विकासको लागि  १७ वर्ष अघि निर्माण कार्य सुरु गरिएको गमगढी नाक्चे लाग्ना सडक  हाल सम्म छाईल बगरसम्म करिब १८ किलो मिटर मात्र  खनिएको छ  । 

 कछुवाको गतिमा हाल सडक खन्ने काम अघि बढिरहेकोले  करानबासी जनताहरू हाल सडक सञ्जालको पहुँच भन्दा  बाहिर रहेका छन् । समयमै   गमगढी नाक्चे लाग्ना सडक  निर्माण हुन सकेको खण्डमा करान भेगको दोल्फुमा रहेको छायाँनाथ मन्दिर  दर्शन गर्न जाने धार्मिक पर्यटकहरूसमेत वृद्धि भई  यस क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुग्ने देखिन्छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button