तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनै जना निर्वाचित

धनगढी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली काँग्रेसका दुई र नेकपा माओवादी केन्द्रका १ गरी ३ जना उम्मेद्वार निर्वाचित हुनुभएको छ ।

सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले अपाङ्गतामा नेपाली काँग्रेसका नारायणदत्त भट्ट र महिलातर्फ नेकपा माओवादी केन्द्रका रेनु चन्द राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनु भएको बताउनुभयो ।यसैगरी, अन्यतर्फ नेपाली काँग्रेसका बलदेव बोहरा निर्वाचित हुनुभएको उहाँले जानकारी दिनुभयो ।

निर्वाचित तिनै जना सत्ता गठबन्धन दलका उम्मेद्वार हुनुहुन्छ । निर्वाचित हुनुभएका मध्ये भट्टले ४ हजार४१९ मतभार, चन्दले ४ हजार ४५३ मतभार र बोहराले ४ हजार३२८ मतभार प्राप्त गर्नुभएको छ ।

यस्तै, राष्ट्रियसभा सदस्य अन्यतर्फ उम्मेदवार रहनुभएका नेकपा एमालेका ईश्वरी प्रसाद खरलले १ हजार ६९६ मतभार, महिलातर्फ सावित्रा घिमिरेले १ हजार५७१ मतभार र अपाङ्गतातर्फ रामचन्द्र जोशीले १ हजार ५१९ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुदूरपश्चिममा प्रदेश भातर्फ १ मत र स्थानीय तहमा २ मत बदर भएको छ ।

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने तीन पदका लागि सुदूरपश्चिम प्रदेशमा आज मतदान भएको थियो । प्रदेशमा कुल २२८ मतदाता मध्य २ सय २५ मतदाताले निर्वाचनमा भाग लिनुभएको थियो ।

यहाँ प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुख अध्यक्ष, उपाध्यक्षको मतभार १९ काय गरिएको थियो । सुदूरपश्चिम प्रदेशमा स्थानीय तहका १७६ जना र ५२ जना प्रदेश सभा सदस्य रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button