तपाईँ सुन्दै हुनुहुन्छः

माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका सार्वजनिक

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका सार्वजनिक गरेको छ ।

तालिका अनुसार आगामी चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन १६ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । चैत १८ गते अनिवार्य गणित र २० गते अनिवार्य विज्ञान विषयको परीक्षा हुनेछ ।

परीक्षा चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार फागु पर्व सकिएपछि परीक्षा गर्ने गरी निर्णय गरिएको हो । यस वर्ष चैत ११ र १२ गते होली परेको छ ।

बोर्डको वार्षिक कार्यतालिकाअनुसार चैत पहिलो साता परीक्षा शुरु गर्नुपर्ने थियो ।

यो वर्षको एसइई परीक्षा दिन ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार ४ जना छात्र र २ लाख ४३ हजार ४४० जना छात्रा रहेका छन् ।

सरकार, संघीय संसद् र शैक्षिक जगतमा माध्यमिक शिक्षा परीक्षा(एसइई)ले निरन्तरता पाउने नपाउनेबारे बहस भइरहँदा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा (एसइई)को तालिका सार्वजनिक गरेको हो ।

बोर्डका अध्यक्ष शर्माले सकेसम्म परम्परागत समय तालिका भन्दा छिटो परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न तथा परीक्षा प्रणालीमा सुधार गर्न बोर्ड लागिपरेको बताउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डले भने ढुक्क भएर परीक्षाको तयारी गर्न विद्यार्थीहरूलाई आग्रह गरेको छ ।

यस वर्षको परीक्षामा हरेक विषयमा सैद्धान्तिकमा ३५ प्रतिशत अर्थात् २७ अङ्क ल्याउनै पर्ने व्यवस्था लागु हुदैछ । बोर्डले तयार गरेको प्रश्न पत्रको आधारमा परीक्षाको व्यवस्थापन प्रदेश स्तरबाट हुने भएको छ ।

कक्षा १० का विद्यार्थीले यसपालि नयाँ पाठ्यक्रम अनुसारको परीक्षा दिँदै छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button