तपाईँ सुन्दै हुनुहुन्छः

पढ्दै कमाउँदै अभियान अन्तरगत ‘मेड इन वीरगञ्ज’ शुरु

वीरगञ्ज । पढ्दै कमाउँदै अभियान अन्तरगत वीरगञ्ज पब्लिक कलेजको आयोजनामा आजबाट कलेज परिसरमै मेड इन वीरगञ्ज कार्यक्रम शुरु भएको छ ।

दुई दिनसम्म चल्ने कार्यक्रममा वीरगञ्जमा फस्टाउँदै गरेको उद्यमशीलता र रचनात्मकतालाई प्रदर्शनी मार्फत सार्वजनिकीकरण गर्न मेड ईन वीरगञ्जको आयोजना गरिएको बिपिसी कलेजका संस्थापक अध्यक्ष प्राध्यापक डा. दीपक शाक्यले बताउनुभयो ।

विद्यार्थीहरूलाई जागिर गर्ने मात्रै हैन जागिर दिने क्षमताको अभिवृद्धिका लागि पनि यो कार्यक्रम सहयोगी साबित हुने बताउँदै शाक्यले घरेलु उत्पादनको सदुपयोग गर्दै त्यसको व्यवसायीकरण गर्न र सिक्दै कमाउँदै गर्ने प्रचलन कलेजबाटै सुरु गरिएको बताउनुभयो ।

अब जागिर गर्ने मात्रै नभएर व्यवसाय तथा उद्यम गर्ने वातावरणको निर्माणका लागि कलेजले विद्यार्थीलाई व्यवहारिक ज्ञान मार्फत अगाडी बढाएको दाबी शाक्यले गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले उद्यमशीलताको प्रवद्र्धन गर्न मेड ईन वीरगञ्ज सहयोगी साबित हुने बताउँदै घरेलु उत्पादनले रोजगारीको सिर्जना गर्नुका साथै स्वदेशमै बसेर आत्मनिर्भर बनाउने दाबी गर्नुभयो ।

उहाँले विद्यार्थीबाट उत्पादित सामग्रीको बजारीकरण तथा व्यवसायीकरणका लागि महानगरले सहयोग गर्न तयार रहेको बताउनुभयो । नगरप्रमुख सिंहले काम गर्दै जाँदा उतारचढाव आउनु स्वभाविक भएको बताउँदै लक्ष्यबाट विचलित नहुन विद्यार्थीहरूलाई सुझाव समेत दिनुभयो ।

उहाँले आफूले महानगरलाई सुन्दर, परिवर्तित तथा विकसित वीरगञ्ज बनाउने अभियानमा लागिरहेको हुँदा त्यसमा सबैले साथ दिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, भारतीय महावाणिज्य दूतावासका तरुण कुमार, समाजसेवी पशुपति विक्रम शाह, वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल केडिया, ऊशा शाह, मधु राणा, ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइराला, सिद्धार्थ इन्टरनेशनल स्कुलकी अध्यक्ष डा. सुष्मा तिवारी द्विवेदी, पोखरिया नगरपालिकाकी पूर्व उपप्रमुख सलमा खातुन, मधेश विश्वविद्यालयका रजिष्ट्रार विजय यादव लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठले गर्नुभएको थियो ।

सो अवसरमा कपडा, खानेकुरा, मिठाइ, खाद्य सामग्री लगायतका वीरगन्जमै उत्पादित विभिन्न स्टल पनि राखिएको बिपिसी कलेजका क्याम्पस प्रमुख डा. विनय श्रेष्ठले जानकारी दिनुभयो ।

साथै कलेजमा विद्यार्थीहरूले प्रदर्शनीको रुपमा रेस्टुरेन्ट पनि सञ्चालन गरेका छन् । विभिन्न समुदाय विशेष परिकारहरू पनि रेस्टुरेन्टमा उपलब्ध गराइएको छ । रेस्टुरेन्टको लगानी विद्यार्थीहरू आफैँले गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button