तपाईँ सुन्दै हुनुहुन्छः

‘गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नु राज्यको प्राथमिक दायित्व’

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान निरीक्षण गर्नुहुँदै मुलुकका लागि आवश्यक दक्ष जनशक्ति तथा सामाजिक उत्तरदायित्वको भावनाबाट अभिप्रेरित चिकित्सक नर्स, प्रयोगशालाविद् लगायतका स्वास्थ्यकर्मी उत्पादनमा जोड दिनुभएको छ ।

उहाँले निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा अत्यधिक महँगो भएकाले त्यसमा आम जनताको सहज पहुँच हुन नसकेको भन्दै सरकारी र सामुदायिक स्तरमा स्वास्थ्य केन्द्र तथा अस्पतालहरूको विकास गरी त्यहाँबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नु राज्यको प्राथमिक दायित्व भएको बताउनुभयो । स्वास्थ्य सेवामा नागरिकको सहज र सर्वसुलभ पहुँच स्थापित गर्न वर्तमान सरकारले विभिन्न कार्यक्रमहरू अघि बढाइरहेको उहाँको भनाइ थियो ।

कार्यवाहक प्रधानमन्त्री खड्काले सार्वजनिक स्वास्थ्य संस्थाहरू सबल र सुदृढ भए मात्र सर्वसाधारण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले सर्वसुलभ स्वास्थ्योपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड १९ तथा डेङ्गी सङ्क्रमणको समयमा स्पष्ट भइसकेको बताउनुभयो । यस कुरालाई हृदयङ्गम गरी सरकारले सबै सार्वजनिक अस्पतालहरूको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको उहाँले उल्लेख गर्नुभयो ।

संस्थानमा शिक्षण तथा व्यवस्थापनमा लागि अहोरात्र खटिनुहुने शिक्षक वर्ग, सकलदर्जा लगायत कर्मचारीहरूको समर्पण र सामूहिक प्रयासले नै संस्थानले शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको उहाँको भनाइ थियो ।

द्रुत गतिमा बदलिँदो विश्व परिवेश तथा त्यससँगै देखा परेका स्वास्थ्य चुनौतीहरू सामना गर्न सक्षम चिकित्सा जनशक्ति उत्पादन गर्नेतर्फ यस संस्थान निरन्तर अग्रसर रहिरहन सकोस् भन्ने उहाँले कामना गर्नुभयो । संस्थानलाई चिकित्सा शिक्षा अध्ययनको लागि देशकै उत्कृष्ट मेडिकल कलेजको रूपमा स्थापित गर्न आगामी दिनमा यहाँका प्राध्यापक कर्मचारी तथा सकल दर्जाले थप प्रयास गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मुलुकमा स्वास्थ्य प्रतिष्ठान तथा चिकित्सा अध्ययन संस्थानहरूको सङ्ख्यामा सङ्ख्यात्मक वृद्धि सँगसँगै तिनको अध्ययन, अध्यापन र स्वास्थ्य सेवा प्रवाहलाई चुस्त र गुणस्तरीय बनाउने कार्य चुनौतीपूर्ण रहेको भन्दै उहाँले यस क्रममा सम्बन्धित स्वास्थ्य प्रतिष्ठान तथा अध्ययन संस्थानहरूले आफ्नो गुणस्तरमा कुनै सम्झौता नगरी गुणस्तरीय अध्ययन, अध्यापन, अनुसन्धान र स्वास्थ्य सेवा प्रवाहमा निरन्तर ध्यान दिन आवश्यक रहेको धारणा राख्नुभयो ।

सो अवसरमा नेपाली सेनाका प्रधानसेनापति, रक्षा मन्त्रालयका निमित्त सचिव तथा नेपाली सेनाका अन्य अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button