तपाईँ सुन्दै हुनुहुन्छः

प्राविधिक विश्वविद्यालय स्थापना प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री शाह

धनगढी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्राविधिक विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले तीन सदस्यीय समिति गठन गरि काम अघि बढाएको बताउनुभएको छ ।

धनगढीमा आज आयोजित प्राविधिक विश्वविद्यालय स्थापना सम्बन्धी प्रादेशिक संगोष्ठीको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा प्राविधिक विश्वविद्यालय स्थापनाको कामलाई प्रदेश सरकारले अघि बढाएकाले सबैको साथ सहयोग चाहिने बताउनुभयो । उहाँले प्रदेश सरकार समृद्ध प्रदेश निर्माणको यात्रामा अघि बढिरहेको उल्लेख गर्नुहुँदै प्राविधिक विश्वविद्यालय स्थापनालाई प्राथमिकता दिएको बताउनुभयो ।

सामाजिक विकास मन्त्री झपट बहादुर साउदले प्राविधिक विश्व विद्यालय स्थापना सम्बन्धी कार्य गर्न गठित समितिले सरकारलाई बुझाउने प्रतिवेदनका आधारमा अघि बढ्ने बताउनुभयो । 

आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले प्रदेशमा प्राविधिक जनशक्ति निमार्णका लागि प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक रहेको बताउनुभयो । 

गोष्ठीमा सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा‍.हरि लम्साल, डा लवदेव अवस्थी, प्रा.डा.हेमराज पन्त र प्रा.डा. अम्मरराज जोशीले प्राविधिक विश्वविद्यालय सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो ।  

सरकारले विश्वविद्यालय स्थापना सम्बन्धी कार्य गर्न तीन सदस्यीय समिति गठन गरेको छ । 

समितिको संयोजकमा डा.लवदेव अवस्थी, सदस्य हरि श्रीपाईली र सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंह रहनुभएको छ । समितिलाई ४५ दिनको कार्यादेश दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button