तपाईँ सुन्दै हुनुहुन्छः

सन्थाल समुदायको सोरहाय पर्व शुरु 

विराटनगर । सन्थाल समुदायका मुख्य पर्वको रुपमा रहेको सोरहाय पर्व शुरु भएको छ । पर्वको अवसरमा सन्थाल समुदायको गाउँ वस्तिमा रौनकता छाएको छ । नेपालीहरूको महान् चाड विजया दशमी जस्तै सन्थाल समुदायले यो पर्व धार्मिक महत्वका साथ मनाउने गर्दछन् । मोरङ, सुनसरी तथा झापा जिल्लामा बसोबास गर्ने सन्थाल समुदायहरूले यो पर्व मनाउँदै आएका छन् ।

यो पर्वमा  ठुलाबडासँग आर्सीवाद थाप्ने र राम्रो लुगा र मिठो खाएर नाचगान गर्ने तथा पर्वको अवसरमा सन्थाल समुदायको गाउँ वस्तिमा मेला लाग्ने गर्दछ । 

आफ्नो भेषभुषा र मान्यजनको आशीर्वाद थापेर ६ दिनसम्म मनाइने सोरहायको आफ्नै ऐतिहासिक महत्व रहेको मोरङ जहदा गाउँपालिका–७ का  भगवान् वेस्राले बताउनुभयो । 

सन्थाल समुदायले पर्वको पहिलो दिन भगवानको थानमा गएर महादेव तथा दुर्गा माताको साथै आफ्नो खेतबारीमा पूजा गर्ने  यसैगरी दोस्रो दिन घरको, तेस्रो दिन  लक्ष्मीपूजा र घरमा रहेको गाईको पूजा गर्ने गरिन्छ ।  चौथो दिन जगंल देवताको पूजा गर्ने गर्दछन् । पाँचौँ दिन माछाको पूजा गर्ने र छैटौँ दिन समुदायमा मिलेर  शिकार खेल्ने गर्दछन् । 

यो पर्वको पहिलो दिनलाई उम, दोस्रो दिनलाई दाका तेस्रो दिनलाई खुन्टो, चौथो दिनलाई जाले, पाचौं दिनलाई हाकुकट कम र छैटौँ दिनलाई विरसिन्दरा भन्ने गरिन्छ । 

पर्वमा घरको सरसफाई गर्ने  तथा देउसी भैलो जस्तै यो समुदाय पनि घरघरमा गएर नाचगान गर्ने चलन रहेको छ  । यो पर्वमा आफ्नो भेषभुषामा तिन दिनसम्म नाचगान गर्ने  चलन छ ।  खुम्टो, जाली र हाकाकुटकका दिन सन्थाल समुदायले विभिन्न प्रकारका नृत्यहरू नाचहरू प्रदर्शन गर्ने गर्दछन् । 

सन्थाल समुदायले यो पर्व बाहेक होली सोराय, अदारा जितिया साथै दशै, तिहार  तथा छठ पर्व समेत मनाउने गर्दछन् । सोरहाय पर्वमा विवाह भएका छोरी ज्वाइँ समेत ससुरालीमा आउने र बाहिर काम गर्न गएका परिवार समेत यो पर्व मनाउन आफ्नो घर आउने गर्दछन् ।

मोरङ, सुनसरी तथा झापा जिल्लामा ५७ हजार बढी सन्थाल समुदायको जनसङ्ख्या रहेको छ । त्यसमध्ये जहदा गाउँपालिकामा सन्थाल समुदायको जनसङ्ख्या सात हजार बढी रहेको स्थानीय भगवान् वेस्राले बताउनुभयो । पर्वको अवसरमा  सो पालिकाले एक दिन सार्वजनिक  बिदा दिँदै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button