तपाईँ सुन्दै हुनुहुन्छः

प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार घिमिरे र श्रेष्ठलाई प्रदान गरिने 

काठमाडौँ । नेपालको सबैभन्दा जेठो पत्रकारिता “साहित्यिक पत्रकारिता”ले भाषा र साहित्यको क्षेत्रमा पुर्याएको दीर्घ योगदानको  सम्मान गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा बसेको बैठकबाट पहिलोपटक “प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार” र “प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार” को स्थापना गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रज्ञा प्रतिष्ठानका कुलपति राईले “साहित्यिक पत्रकारिता भनेको सम्पूर्ण भाषासेवी  र स्रष्टाहरूको बौद्धिक उत्पादनशाला हो । यो सबै तहतप्काको प्राज्ञिक खुराक हो । यसले प्राज्ञिक र सांस्कृतिक सत्ताको क्षेत्रमा सर्वोपरि भूमिका वहन गर्न सक्नुपर्छ ।” भन्नुभयो ।

बैठकले  “प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता” पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ। सात दशकदेखि साहित्यिक पत्रकारितामा निरन्तर योगदान गर्दै आएका घिमिरेले २०१८ साल जेठ २ गतेबाट रचना साहित्यिक द्वैमासिक  पत्रिकाको सम्पादक  र प्रकाशक रही साहित्यिक पत्रकारिता यात्रारम्भ गरेका थिए ।अहिलेसम्म पनि निरन्तर रचना प्रकाशित भइरहेको छ ।

यसैगरी प्रज्ञा प्रतिष्ठानले “प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार” वरिष्ठ साहित्यिक पत्रकार रुक्मिनी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । पाँच दशकदेखि  साहित्यिक पत्रकारितामा समर्पित श्रेष्ठ नेपालभाषामा २००८ साल वैशाखदेखि प्रकाशित हुँदै आएको “थौंकन्हे” साहित्यिक  मासिकमा २०४५ सालमा आबद्ध रहनु भएको थियो । उहाँ यसपछि  “थौंकन्हे”को  सम्पादक तथा प्रकाशक रहँदै आउनुभएको छ।यी दुवै पुरस्कारको राशि जनही ५०,०००र (पचास हजार) रुपैयाँ रहेको छ। 

उक्त पुरस्कार २०८० साल पुस २९ गते आइतबार  दिनको ठिक १:००बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहको आयोजना गरी  प्रदान गरिने जानकारी नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button