तपाईँ सुन्दै हुनुहुन्छः

स्वर्ण पदक विजेता गुरुङको सम्मान

दमौली। काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ ।

उक्त प्रतियोगितामा स्वर्ण पदक विजेता देवघाट गाउँपालिका–५ गैडाढुङ्गा निवासी गुरुङलाई गाउँपालिकाले शुक्रबार नगद रु २५ हजारसहित सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गुरुङलाई रु २५ हजार नगद र प्रमाणपत्र प्रदान गर्नुभयो ।

कराँते प्रतियोगितामा स्वर्ण पदक जितेर नेपाल तथा देवघाट गाउँपालिकाको नाम राख्न सफल भएकाले प्रोत्साहनस्वरुप सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँले खेलकुदमार्फत पालिकाको नाम राख्न सफल हुनुभएको छ । खेलाडीलाई प्रोत्साहन गर्नका लागि नगदसहित सम्मान गरेका हौँ ।”

सम्मानित भएपछि गुरुङले यसले आफूलाई प्रेरणा मिलेको बताउनुभयो । गुरुङले ४५ केजीमुनिको समूहमा बङ्गलादेशकी अर्पा सलिहालाई हराउँदै स्वर्ण पदक जित्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button