तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपाली जनता र नेपालको राष्ट्रिय हित विपरीत कुनै काम हुन दिइँदैन’

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनता र नेपालको राष्ट्रिय हित विपरीत कुनै काम हुन नदिइने बताउनुभएको छ । 

धनगढीमा सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले ऐनसेल प्रकरणको छानविन र अध्ययनका लागि सरकारले ५ सदस्यीय छानविन समिति गठन गरी काम शुरु गरेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई लयमा ल्याउने गरी सरकारले काम गरिरहेको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले राजनीति लयमा आएको बताउनुहुँदै लोकतान्त्रिक गणतन्त्रका विरुद्ध अराजक गतिविधि गर्नेहरू विरुद्ध दलहरू एक ठाउँमा रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले १० हजार क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाको निर्णय भएको उल्लेख गर्नुहुँदै पञ्चेश्वर जलविद्युत परियोजनाको काम अघि बढेको बताउनुभयो । सुदूरपश्चिमको विकासलाई आफूले सदैव प्राथमिकता दिएको उल्लेख गर्नुहुँदै उहाँले दोधारा चाँदनी सुख्खा बन्दरगाह, महाकाली कोरिडर, उरैभञ्ज्याङ नाका, गेटा स्वास्थ्य विश्वविद्यालय, फाप्ला त्रिक्रेट रंगशाला लगायतका क्षेत्रको काम अघि बढ्ने बताउनुभयो ।

उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, सांसद द्वय हरिराम चौधरी, मेघराज खड्का, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, मेयर गोपाल हमाल लगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गर्नुभयो । 

महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष पुष्पराज कुँवरले प्रधानमन्त्री प्रचण्डलाई १० किलोको माला लगाएर स्वागत गर्दै १० बुँदे माग पत्र बुझाउनुभएको थियो ।

यसैगरी उद्घाटन समारोहमा विभिन्न व्यक्तिलाई सम्मानित गर्नुका साथ कला संस्कृति झल्कने झाँकी प्रस्तुत गरिएको थियो ।

आगामी पुस २ गते सम्मे महोत्सवमा ४ सय बढी स्टल रहेका छन् । महोत्सव अवधिमा १० करोड बराबरको कारोबार हुने र ५ लाखले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button