तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपति यादव र सार्क महासचिव सरवरबीच शिष्टाचार भेटघाट

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव महामहिम मोहम्मद गुलाम सरवरले आज (बिहीबार) लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गर्नुभएको छ । भेटघाटका क्रममा उपराष्ट्रपति यादव र महासचिव सरवरले बधाई तथा शुभकामना आदानप्रदानपछि सार्क सदस्य राष्ट्रहरूको आपसी सहयोग र समझदारीबाट सङ्गठनले गतिशीलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।  

उपराष्ट्रपति यादवले नेपाल सार्क बडापत्रका अन्तरनिहित सिद्धान्त र लक्ष्यप्रति सदैव प्रतिबद्ध रहँदै आएको बताउँदै दक्षिण एशियाली क्षेत्रको आर्थिक वृद्धि, सामाजिक प्रगति एवम् सांस्कृतिक विकासलाई तीव्रता दिन सार्क प्रभावकारी माध्यम बन्न सक्ने बताउनु भयो । ‘दक्षिण एशियाली क्षेत्रका जनताको आशा यस क्षेत्रीय सङ्गठनको प्रभावकारितामा रहेको छ ’ उहाँले भन्नुभयो, ‘तसर्थ, सदस्य राष्ट्रहरूले यस क्षेत्रीय सङ्गठनलाई गतिशील र परिणाममुखी बनाउन प्रयत्न गर्नु पर्दछ । ’

उपराष्ट्रपति यादवले १९औँ सार्क शिखर सम्मेलन आयोजना गर्नमा भएको ढिलाइ र अन्य महत्वपूर्ण बैठकहरू समेत हुन नसकेको अवस्थाले सार्कको कार्यमा असर परेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले सार्क सदस्य राष्ट्रहरूले अवरुद्ध शिखर सम्मेलन आयोजना गर्न छिट्टै सहमति जुटाउने विश्वास पनि व्यक्त गर्नुभयो । ‘सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरुबीच एकता र ऐक्यबद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण रुपमा प्रतिबद्ध छ ’ उहाँले भन्नुभयो, ‘सदस्य राष्ट्रहरूले सहयोग र समझदारीको माध्यमबाट सार्कलाई गति दिनेमा म आशावादी छु । ’

उपराष्ट्रपति यादवले सार्क प्रक्रियालाई अगाडि बढाउने सम्बन्धमा महासचिवको विचार र योजनाप्रति धन्यवाद दिँदै महासचिवले आफ्नो सक्षम नेतृत्वबाट सार्क प्रक्रियालाई थप सक्रिय बनाउन र यस क्षेत्रले भोगिरहेका चुनौतीहरूको सामना गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास पनि व्यक्त गर्नुभयो । 

भेटघाटमा सार्कका नवनियुक्त महासचिव महामहिम मोहम्मद गुलाम सरवरले सदस्य राष्ट्रहरूको संयुक्त पहलमै सार्क अगाडि बढ्ने बताउनु भयो । ‘ म सबै सदस्य राष्ट्रहरूको भ्रमण गरी सार्कलाई अगाडि बढाउन सक्दो प्रयत्न गर्नेछु ’ उहाँले भन्नुभयो, ‘सार्कलाई अगाडि बढाउन नेपाल र नेपाली जनताको प्रतिबद्धताप्रति म आभार प्रकट गर्दछु । ’

प्रतिक्रिया राख्नुहोस्

Back to top button