तपाईँ सुन्दै हुनुहुन्छः

कोशी टप्पुमा ल्याएका पोथी गैँडा पुष्पा र अञ्जली हात्ती र कर्मचारीसँग रम्दै

उदयपुर । गत असोज ९ गते मङ्गलवार चितवन राष्ट्रिय निकुञ्जबाट कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएका पोथी गैँडा पुष्पा र अञ्जली यतिबेला कोशी टप्पुमा रहेका हात्ती र टप्पुका कर्मचारीसँग रमाउने गरेका छन् ।

माउबाट छुट्टिएको अवस्थामा फेला परेका पुष्पा र अञ्जली नामका गैँडाहरू कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएपछि उनीहरूलाई कोशी टप्पु वन्यजन्तु आरक्षको सप्तरी स्थित पथरी सेक्टरमा राखिएको छ उनीहरूको स्याहारसुसारका लागि एकजना कर्मचारी खटाइएको छ । तर गैँडाको स्याहारसुसार गर्न तालिम दिएर राखेका कर्मचारीको सेवा सुविधा भने सन्तोषजनक नभएकोले गैँडाको स्याहारसुसारमा भविष्यमा समस्या आउने देखिएको छ ।

विगतमा गरिएका गैँडा स्थानान्तरण पूर्ण रूपमा सफल नभए पनि यस पटक कोशी टप्पुमा गरिएको स्थानान्तरण भने सफल हुने कैयन् आधार रहेको विज्ञ तथा संरक्षणकर्ताहरूको दाबी छ। 

कोशी प्रदेशको सुनसरी, उदयपुर र मधेश प्रदेशको सप्तरी जिल्लामा १७५ वर्ग किमी क्षेत्रफलमा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्षमा गैँडाका लागि वेटल्याण्ड र ग्रासल्याण्ड राम्रो भएको कोशी टप्पु वन्यजन्तु आरक्ष पथरी सेक्टरकी प्रमुख रेखा कुमारी मेहताले बताउनु भयो । अहिले पुष्पा र अञ्जलीलाई राख्नका लागि कोशी टप्पु आरक्षको पथरी सेक्टरमा १६ फिट अग्लो, ८५ फिट लामो इन्क्लोजर बनाइएको छ । त्यहाँ पानी र घाँसे मैदानको समेत व्यवस्था गरिएको मेहताले बताउनु भयो।

चितवन बाट कोशी टप्पु ल्याउँदा दुवै गैँडालाई स्याहारसुसार र सहजतामा निकै कठिन भएको भएपनी अहिले उनीहरुलाई सो क्षेत्रको रहनसहनमा सहज हुनथालेको छ । अहिले उनीहरू त्यही टप्पुका हात्ती सँगै रम्ने गरेका छन् । उनीहरूलाई बिहान ६ बजे इन्क्लोजर बाट सोही क्षेत्रमा रहेको घाँसे मैदानमा बाहिर निकाल्ने गरिएको छ भने दिउसो ११ बजे आरक्षको टप्पु क्षेत्रमा हात्ती सँगै चराउन लैजाने गरिएको छ । साँझ ५ बजे भने उनीहरू आफै आफ्नो बासस्थान इन्क्लोजर तर्फ आउने गरेका छन् ।

पछिल्लो समय कोशी टप्पु पथरी सेक्टरमा रहेका हात्ती र स्थानीय कर्मचारीसँगै रमाउँदै पुष्पा र अञ्जलीले आफ्नो दिनचर्या गुजार्दै आएका छन् । 

चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा स्थानान्तरण गरिएका गैँडाबाट सुखद रिजल्ट नआइरहेका बेला कोशी टप्पु वन्यजन्तु आरक्षमा ल्याएका गैँडाबाट भने सफलता हाँसिल हुने देखिएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षमा गैँडालाई सहज देखिएपनी घरपालुवा जनावर गाईबस्तु आरक्ष क्षेत्रमा छोड्नाले गैँडालाई असहज हुने अवस्था रहेको छ । सानै देखी मानिस सँगै रम्दै आएका पुष्पा र अञ्जलीलाइ कोशी टप्पु वन्यजन्तु आरक्षमा निकै सहज हुने देखिएपछि चितवन राष्ट्रिय निकुञ्जबाट थप दुई पोथी र एक भाले गैँडा कोशी टप्पु ल्याउने तयारी गरिएको छ । यस सँगै कोशी टप्पु वन्यजन्तु आरक्षमा गैँडाको सङ्ख्या ५  हुने छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button