तपाईँ सुन्दै हुनुहुन्छः

लक्ष्मी माताका रुपमा गरियो गाई पूजा

काठमाडौँ । तिहार अर्थात् यमपञ्चकको तेस्रो दिन आज गाईको विधिपूर्वक पूजा आराधना गरी मीठामीठा खानेकुरा दिइएको छ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । हाम्रो समाजमा गाई माताका रुपमा पुजिन्छ । गाईलाई लक्ष्मी माताका रुपमा पनि सम्बोधन गरिन्छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । यसैले गाईलाई राष्ट्रिय जनावरका रुपमा पनि संविधानमै उल्लेख गरिएको छ । यसैले गाईलाई सम्मान गर्ने प्राचीनकालदेखिको परम्परा छ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन अर्थात् लक्ष्मी पूजाका दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । यही मान्यताका आधारमा आज गाई पूजा गरिएको हो ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा आज गाईको पुच्छरमा डोरो बाँधियो ।

असहाय गाई बाच्छा संरक्षण स्थलमा सामूहिक गौ पूजा
कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित असहाय गाई बाच्छा संरक्षण स्थलमा गाई तिहारका अवसरमा सामूहिक गौ पूजा गरिएको छ । संरक्षण स्थलमा करिब दुई सय छाडा छोडिएका गाई बाच्छा संरक्षण गरिएको छ ।

संरक्षण स्थलमा आयोजित कार्यक्रममा गाई पूजासहित देउसी भैलो पनि गरिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसाल, बागमती प्रदेशका पूर्व मन्त्री रामेश्वर फुयाँल लगायतको सहभागिता रहेको थियो ।

पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको करिब एक सय रोपनी जग्गामा अभियानकर्मी पुडासैनीको नेतृत्वमा असहाय गाई बाच्छाको संरक्षण भइरहेको छ । गाईलाई दूध दिउन्जेल घरमा राख्ने र दूध दिन छोडेपछि मन्दिर परिसर, नदी किनार, सार्वजनिक स्थल एवम् सडकमा छोड्ने क्रम बढ्न थालेपछि अभियानकर्मी छाडा गाई बाच्छाको संरक्षणमा जुटेका हुन् । बाच्छीलाई घरमै राख्ने र बाच्छालाई सानैमा छाडा छोड्ने गरिएको छ । यस्तो प्रवृत्तिका विरुद्ध अभियानकर्मीले चेतना पनि जगाउँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button