तपाईँ सुन्दै हुनुहुन्छः

खड्गसहित तलेजुको घोडे जात्रा मनाइँदै

भक्तपुर । दसैँको टीकाको दिन आज भक्तपुरमा तलेजु भवानीको वाहन सेतो घोडे जात्रा मनाइने भएको छ । प्रत्येक वर्ष दसैँको टीका अर्थात् दशमीको रातिदेखि मनाइने भक्तपुर तलेजु भवानीको वाहन सेतो घोडा जात्रा आज साँझबाट भक्तपुरमा सुरु हुने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

नेपाल संवत् ४४३ पौष शुक्लको दिन तलेजु भवानीको आगमन भएदेखि नै यो जात्रा शुरु भएको हो । विजयादशमीको राति तलेजु भवानीमा तलेजुका चार मूल नाइकेहरू आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरूप कालरात्रि पूजा, टीका साइत पूजा र विसर्जन पूजा सम्पन्न गरेपछि रातिबाट सेतो घोडा जात्रा सुरु गरी सहर परिक्रमा गरिने प्रचलन रहेको जोशीले बताउनुभयो ।

तलेजुका मूल नाइके जोशीका अनुसार महिषासुर दानवमाथि विजय हासिल गरेपछि तलेजुले आफ्नो वाहन सेतो घोडामा सिँगारिएर तलेजु भवानी खुसीयाली मनाउन नगर परिक्रमा गरेको भन्ने जनविश्वास छ ।

जात्रा सुरु हुनुअघि सेतो घोडालाई एउटा भेडा बलि चढाइन्छ । विजयादशमी एक दिन चन्द्रमासको गतिअनुसार तलेजु भवानीको मन्दिरमा नवदुर्गा भवानीलाई खड्ग अर्थात् पायःदयो प्रदान गरी जात्रा गरिन्छ । यसैलाई खड्ग अर्थात् पायःद्यो जात्रा भन्ने गरिन्छ ।

राति तलेजुबाट बाजागाजासहित सेतो घोडा निकालिन्छ । उक्त घोडाको पछाडि तलेजु भवानी ल्याइन्छ भने तलेजु भवानीको पछाडि नवदुर्गा भवानी गण ल्याउने गरिन्छ । सेतो घोडा तलेजु भवानीको वाहन भएकाले तलेजु भवानीको अगाडि यो घोडा ल्याउने चलन छ ।

खड्ग जात्रा गरी दरबार क्षेत्र र नगरका अन्य क्षेत्रमा घोडा, तलेजु भवानी र नवदुर्गा गण परिक्रमा गराइन्छ । त्यसैगरी सोही दिन नवदुर्गा देवगणहरूले तलेजुको जमदार चोकमा तलेजु भवानीलाई ढोग गरिन्छ । प्रत्येक वर्षको विजयादशमीको राति ज्योतिषीले चन्द्रमाको गतिअनुसार थाः न्ह्यायेगु (माथि सवारी हुने) वा क्वः न्ह्यायेगु (तल सवारी) हुने निर्णय पहिले नै भएअनुसार तलेजु भवानीको जात्रा अगाडि सेतो घोडाको जात्रा हुन्छ ।

देवतासहित नगरको माथिल्लो भेगमा घोडालाई लैजाँदा दरबार क्षेत्रबाट दत्तात्रय, तौमढी हुँदै नारायण चोकसम्म माथिल्लो भेगको परिक्रमा गरी गहिटीस्थित सांभुङ्ग भैरवबाटै दरबार स्क्वायर पुर्‍याइन्छ भने तल्लो भेगको परिक्रमा गर्दा दरबार क्षेत्रबाट भार्वाचो, वंशगोपाल, भूजिकोखा, नारायणचोक गहिती स्थित सांभुङ्ग भैरवबाटै दरबार स्क्वायर पुर्‍याउने परम्परा छ ।

भक्तपुर नगरको पूर्वतर्फ विराजमान ब्रह्मायणी देवीको वाहन पनि सेतो घोडा नै भएकाले जात्रा मनाउँदा तलेजु भवानीको सेतो घोडा ब्रह्मायणी देवीले आफ्नो वाहन हो भनी लैजान्छिन् भन्ने मान्यता अनुसार जात्रा तचपालबाटै तलतिर फर्काउने प्रचलन छ । घोडालाई दरबार क्षेत्रको तलेजुको सुनको ढोका अगाडि सेतो घोडा तीन पटक ओहोरदोहोर गराइन्छ ।

त्यस्तै मध्यपुर थिमिमा पनि आज राति खड्ग अर्थात् दयो जात्रा मनाउने गरिन्छ । थिमिको लायकुबाट सुरु हुने यस जात्रामा मल्लकालीन सैनिक पोशाक र मल्लकालीन हातहतियारसहित बालकुमारीदेखि दिगुटोलसम्म प्रदर्शन गर्ने गरिन्छ । यो जात्रालाई स्थानीय भाषामा ‘खाँ पिहावइगु’ वा ‘भुइ फसि पालिगु’ जात्रा भन्ने गरिन्छ । यसलाई हतियार प्रदर्शन गर्ने जात्राको रुपमा मानिँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button