तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा गोरुको विकल्प बन्दै मिनी टिलर 

भोजपुर । दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्प मिनी टिलर बन्न थालेको छ । 

पछिल्लो समयमा जिल्लामा मिनी टिलरको बिक्री समेत बढ्दै जान थालेको न्यु सिद्धकाली सप्लार्यसका बाजिम मगरले बताउनुभयो । मगरले भन्नुभयो, “पहाडी जिल्लामा समेत कृषिमा आधुनिकीकरण भित्रिएसँगै आधुनिक कृषि उपकरण तथा औजारको माग बढेको छ, कृषि प्रधान मुलुकमा खेतीपाती गर्ने प्रणालीमा परिवर्तन हुन थालेसँगै आधुनिक कृषि प्रविधिको पनि माग बढेको हो ।” जिल्लाका ग्रामीण क्षेत्रहरूका खेतबारीहरूमा समेत अहिले मिनी टिलरले जोतेको देख्न सकिन्छ । 

गोरु समेत पहिलाको तुलनामा पाउन छाडेकाले अहिले गोरुको विकल्प टिलर बनेको कृषक तीर्थ श्रेष्ठले बताउनुभयो । सुरुमा प्राविधिक ज्ञानको अभाव हुने भएतापनि अहिले कृषकहरूका लागि हलोको विकल्प मिनी टिलर बनेको श्रेष्ठको भनाई रहेको छ । पछिल्लो समयमा किसानले मिनी टेलर हलो, कम्बाइण्ड राइस मिल, रूख काट्ने मेशिन, धान काट्ने थ्रेसर, मकाई छोडाउने क्रन थ्रेसर लगायतका औजारको प्रयोग गर्न थालेपछि यसको कारोबार समेत बढेको छ । कृषि औजारहरू मध्ये कृषकले जोत्नका लागि मिनी टिलर हलो अत्यधिक रुचाएका छन् ।

पालिकाहरूले समेत कृषकहरूका लागि अनुदानमा मिनी टिलर वितरण गर्न सुरु गरेपछि यसको प्रयोग पनि बढेको हो । थोरै समयमा धेरै काम गर्न सकिने र सजिलो भएका कारण गोरुको विकल्पकारुपमा मिनी टिलर हलो बनेको हो । धेरै खेतीपाती गर्दा थोरै समय र कम खर्चमा जोत्न सकिने आधुनिक मिनी टिलरले पहाडका साना खेतबारी, कान्ला, छेउ कुनो राम्ररी जोत्न सकिने कृषकहरूको भनाई रहेको छ । मिनी टिलरबाट भनेको समयमा आफूले काम पनि गर्न सकिने बताउँदै कृषक सिताराम प्रधानले भन्नुभयो, “गोरुले जोत्दाभन्दा मिनी टिलर हलोले जोत्दा झन्डै ७५ प्रतिशत कम छिटो पनि हुन्छ, गोरुको झन्झट पनि परेन ।”

स्थानीय सरकार आइसकेपछि कृषकलाई सहुलियतरुपमा गाउँपालिका, नगरपालिका, कृषि ज्ञान केन्द्र र विभिन्न पकेट क्षेत्रमा अनुदान मार्फत समेत मिनी टिलर हलो वितरण हुन थालेको छ ।  गोरुलाई जस्तो वर्षभरि पालेर राख्नु नपर्ने हुँदा मिनी टिलर जिल्लामा खेतीका लागि प्रभावकारी बन्दै गएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । केन्द्रले समेत कृषकहरूका लागि मिनी टिलर वितरण गर्ने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button