तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा हजारौँ विगाह खेतीयोग्य जमिन बगर र बालुवामा परिणत

नेपालगन्ज। बाँकेको राप्ती नदी तटीय क्षेत्रका सयौँ किसानको करिब २५ हजार विगाह कृषियोग्य उर्वर जमिन बगरमा परिणत भएको छ । 

राप्तीमा बर्षेनी आउने बाढीले खेतमा बालुवा थुपारिदिने गरेको छ ।  बगर बनेको खेतको लालपुर्जा बोकेका किसानहरूले मालपोत पनि बुझाउँदै आएका छन् । बालुवा नै बेचेर भए पनि खर्च जोहो गर्न खोज्दा समस्या भोगिरहेको किसानहरूको गुनासो छ ।

खेतीयोग्य जमिन बगर र बालुवामा परिणत भएपछि डुडुवा गाउँपालिका वडा नम्बर २ सिधनियाका किसानले न खेती गर्न पाएका छन्, नत बालुवा नै बेचेर खर्च जोहो गर्न सक्ने अवस्था छ । स्थानीय नन्नु खटिक बगर बनेको आफ्नो खेत हेरेरै चित्त बुझाउनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । राप्ती किनारका किसानको जग्गा बर्षेनी नदीमा आउने बाढीले बगर बनाइदिएको छ । बचेको खेतमा पनि नदीले बालुवा थुपारिदिएपछि उत्पादन शून्य छ । बालुवा भरिएको खेतको मालपोत कहिलेसम्म बुझाइरहने भन्ने पिरलो किसानलाई छ । सिधनियाकी कुन्ती धोबीले खेतीयोग्य जमिन नासिँदै जाँदा गरिबीले गाँज्दै लगेको दुःखेसो गर्नुभयो ।

चारैतिर राप्तीले घेरिएको सिधनिया गाउँको विपन्नता उदेकलाग्दो छ । गरिबीले डेरा जमाएको बस्तीमा साँझ बिहानको छाकको जोहोका लागि आफ्नो खेतमा थुप्रिएको बालुवा बेच्न खोजे पनि समस्या भोगिरहेको स्थानीयको दुःखेसो छ । स्थानीय विजय गोडियाले तस्करले आफ्नै आँखा अगाडिबाट आफ्नै खेतको बालुवा उठाउँदै गर्दा पनि लाचार भएर टुलुटुलु हेर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

कानुनले हक भोग गरेको जमिनको अधिकार सम्बन्धित नागरिकलाई नै प्रदान गरेको छ । त्यसमा स्थानीय सरकार वा अन्यले अवरोध गर्न नपाइने व्यवस्था छ । तर, गरिब किसानले दुःख भोगिरहेका छन् । भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका सूचना अधिकृत नवीनबहादुर खड्काले स्थानीय सरकारलाई त्यसमा कुनै अधिकार नभएको बताउनुहुन्छ ।

राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाको तटीय क्षेत्रबाट नदीजन्य पदार्थको अवैध उत्खनन गर्नेहरू आफ्नो लागि बाधक बनिरहेको किसानहरूको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button