तपाईँ सुन्दै हुनुहुन्छः

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : मुख्यसचिव

काठमाडौँ । मुख्यसचिव डा वैकुण्ठ अर्यालले मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबिचको सहकार्य जरुरी रहेको बताउनुभएको छ ।

बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र फेडेरेसन अफ नेपाल एक्सपोर्ट्स एसोसिएसनले संयुक्त रूपमा आयोजना गरेको ‘आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू’ विषयक पुस्तक विमोचन कार्यक्रममा उहाँले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निर्यातलाई बढावा दिनुपर्ने बताउनुभयो ।

मुख्यसचिव डा अर्यालले मुलुकले निर्यातजन्य वस्तु विकासमा जोड दिनसके बजारीकरणको समस्या नहुने उल्लेख गर्नुभयो । निर्यात बढाउनका लागि निर्यात घर स्थापना राम्रो काम भएको बताउँदै निर्यात घर स्थापनाका लागि सरकार लाग्ने स्पष्ट गर्नुभयो । उहाँले विदेशमा निर्यात हुने वस्तुलाई स्वदेशी बजारमा समेत प्रयोग गर्नसके राम्रो हुने बताउनुभयो ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले नेपालमा उत्पादित वस्तुलाई निर्यात गर्नका लागि पुस्तक मार्गदर्शन हुने बताउनुभयो । उहाँले निर्यातजन्य वस्तुमा गुणस्तरलाई ध्यान दिन आम व्यवसायीलाई आग्रहसमेत गर्नुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपालमा उत्पादित वस्तुलाई विदेशसम्म निर्यात गर्न सकेमात्र नेपालको अर्थतन्त्र बलियो हुने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल लगायतले दिगो विकासको लक्ष्य पूरा गर्न नेपालको मौलिक उत्पादनलाई बढावा दिई विदेशमा निर्यात गर्नुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button