तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा एक वर्षमा १२४ सवारी दुर्घटना, ६० जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा एक वर्षको अवधिमा १२४ वटा सडक दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा भएका सवारी दुर्घटनामा १२९ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । दुर्घटनामा परेर १० वटा पशु चौपाया मरेका छन् ।

बढ्दो सवारी साधनको चाप र चालकको लापरवाहीले सडक दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक तिलक सुनारले बताउनुभयो । सडक दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरीले ट्राफिक नियम पालनामा कडाइ गरिएको जनाएको छ । ट्राफिक प्रहरी प्रमुख सुनारले विद्यमान जनशक्तिको आधारमा ट्राफिक सचेतना सहित चेकजाँचलाई पनि निरन्तरता दिँदै आएको बताउनुभयो ।

उहाँले जिल्लामा गत आर्थिक वर्षमा मात्र मापसेका २ हजार ८ सय ५५ वटा सवारी साधनलाई कारबाही गरी २८ लाख ५५ हजार राजश्व सङ्कलन गरिएको बताउनुभयो । दुर्घटना न्यूनीकरणका लागि गत आर्थिक वर्षमा ७ सय ७३ वटा सचेतना कक्षा सञ्चालन गरेर करिब ३४ हजार बढी सवारी चालक, यात्रु र विद्यार्थीलाई सचेत बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button