तपाईँ सुन्दै हुनुहुन्छः

कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपभोक्ता अधिकारको उल्लङ्घन तथा स्वच्छ बजार प्रवर्द्धनमा हुने बेथितिलाई सरकारले छुट नदिने बताउनुभएको छ ।

उपभोग्य वस्तुको सहज उपलब्धता, भन्सार छली, चोरी निकासी पैठारी लगायत विषयमा गृह मन्त्रालयमा आज आयोजित छलफलमा उहाँले उपभोक्ता हितलाई केन्द्रमा राखेर सरकार अगाडि बढ्ने बताउनुभयो ।

“कानुन उल्लङ्घन र बेथितिलाई सरकारले छुट दिँदैन”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “गुणस्तरीय र सुपथ मूल्यमा दैनिक आवश्यकताका पूरा गर्न पाउने उपभोक्ताको अधिकार हो ।” उहाँले सरोकारवाला सबै पक्षसँगको छलफलबाट अनुगमनलाई प्रभावकारी बनाइने बताउनुभयो ।

उद्योग, व्यवसाय क्षेत्रमा हुने अनियमिततालाई ठिक ढङ्गबाट अनुगमन गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले व्यवसायीले भोग्नुपरेका समस्या समाधान गरिने स्पष्ट पार्नुभयो । गृहमन्त्री श्रेष्ठले व्यवसायमा देखिएका कमजोरी सच्याउने र समस्या भए समाधान गर्ने दिशातर्फ प्रभावकारी कदम चाल्नु आवश्यक भएको धारणा राख्नुभयो ।

उहाँले उपभोक्ता अधिकारलाई कुण्ठित गर्ने काम भइरहेको तथा सुधार गर्नुपर्ने विषयमा सरकारलाई सुझाव दिन उपभोक्ता अधिकारकर्मीसँग आग्रह गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले समृद्धिको प्रतिफल आम जनतालाई प्राप्त हुने गरी सामाजिक न्याय स्थापित गर्न वर्तमान सरकारले सुशासनमा जोड दिइरहेको बताउनुभयो ।

अर्थतन्त्रलाई लयमा ल्याएर मात्रै समृद्धिको लक्ष्य प्राप्त गर्न सकिने उल्लेख गर्दै उहाँले राज्यलाई सुदृढ गराउन सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो ।

छलफलमा उपभोक्ता अधिकारकर्मीले प्रत्येक वस्तु तथा सेवाको खरिदमा उपभोक्ता ठगिएको जानकारी गराउँदै नियमनकारी निकायलाई साधन स्रोत सम्पन्न बनाउनुपर्ने, उपभोक्ता अधिकारसम्बन्धी ऐन पुनः लेखन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

उद्योगी व्यवसायीले व्यापार व्यवसायमा सरकारले सहयोग गर्नुपर्ने, व्यापार सहजीकरण सम्बन्धी संयन्त्रमा वास्तविक व्यापारीको प्रतिनिधित्व हुनुपर्नेमा बताउनुभएको थियो ।

छलफलमा गृहसचिव दिनेशकुमार भट्टराई, प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, आन्तरिक राजस्व, भन्सार विभाग, उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक, उपभोक्ता अधिकारकर्मी, उद्योगी व्यापारीको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button