तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा १७ सय २१ क्वीइन्टल नुन मौज्दात, वडाबाटै वितरण गर्ने तयारी

जुम्ला । जुम्लामा हाल १ हजार ७ सय २१ क्वीइन्टल नुन मौज्दात रहेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन सदरमुकामको डिपो सहित २ डिपोमा १७ सय बढी क्वीइन्टल नुन मौज्दात रहेको हो । जसमा सदरमुकामको डिपोमा ८ सय २१ क्वीइन्टल,नराकोट डिपोमा ५ सय ५० क्वीईन्ट र गुरुचौर डिपोमा ३ सय ५० क्वीइन्टल गरी १७ सय २१ क्वीइन्टल मौज्दात छ । नुनको अभाव नै छैन । जनतालाई आत्तिनु पर्ने स्थिति पनि छैन । 

व्यवस्थापन कमजोरी तथा पालो मिचेर नुन लिन खोज्दा डिपो तोडफोड भएपनि जुम्लामा नुनको अभाव छैन । गत आवकै नुन समयमै ढुवानी नहुँदा वडामा पठाउन सकिएन । जसका करण सदरमुकाम डिपोमा नागरिकको भिड लाग्ने गरेको साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो । 

सदरमुकाम आउने झन्झट र भिड रोक्न पहिलाकै निर्णय कार्यान्वयन गर्दै वडा वडामा नुन पठाउने तयारी गर्दै छौ । उहाँले भन्नुभयो,“विगतको जस्तो वडामा नुन नपठाउने समस्या हुन्छ,निर्णय कार्यान्वयन हुन्नकी भन्ने शङ्का लाग्नु स्वभाविक छ । तर हामी वडाबाटै नुन वितरण गर्ने तयारीमा जुटेका छौ ।”

असार ३१ गतेदेखि सदरमुकाम डिपोबाट नुन वितरण रोकिएको र समय तालिम बनाएर चाडै वितरण सुरु गरिने समेत प्रमुख मल्लले उल्लेख गरे । गत आव ०७९/८० मा जुम्ला सदरमुकाम सहित तीनै डिपोका लागि ४२ सय क्वीइन्टल कोटा रहेकोमा सबै ढुवानी भएर पनि २ हजार ८० क्वीइन्टल कोटा थप माग गरिएको थियो । पछिल्लो थप माग गरिएको २ हजार ८० क्वीइन्टल नुन ढुवानी ढिला हुँदा नै समस्या आएको हो । यद्यपि असार ३० गते नुन आइपुगेको छ । 

त्यस्तै चालु आव ०८०/८१ का सदरमुकाम डिपोका लागि ३ हजार ९८ क्वीइन्टल , गुरुचौरका लागि ८ सय ८५ क्वीइन्टल र नराकोटका लागि ७ सय ९६ क्वीइन्टल नुनको कोटा स्वीकृत भएको छ । जसमा नेपालगन्जदेखि ३ सय ४० क्वीईन्ट नुन समेत ढुवानी सुरु भइसकेको प्रमुख मल्लले जानकारी बताउनुभयो । 

गत आवकै १७ सय बढी क्वीइन्टल नुन मौज्दात हुनु,चालु आवको ढुवानी सुरु हुनुले वडा वडाबाटै नुन वितरण गर्ने कार्य सफल हुने अपेक्षा गरिएको छ । यद्यपि नागरिकले भने कार्यान्वयनमा शङ्का व्यक्त गरिरहेका छन् । 

वडा वडाबाट नुन बाँड्ने निर्णय नुन ढुवानी नभएकै कारण कार्यान्वयन नभएको नजिर स्थापित भइसकेकोले फेरी वडाबाटै नुन वितरण गर्ने अभ्यास आफैमा चुनौतीपूर्ण रहेको नागरिक अगुवा राजबहादुर महतले बताउनुभयो । उहाँले नागरिकले सहज रुपमा नुन पाउने वातावरण मिलाउन तीनै तहका जनप्रतिनिधि लगायत सरोकारवालाले समयमै नुन ढुवानी गर्ने विषयमा जोड दिनु पर्ने उल्लेख गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button