तपाईँ सुन्दै हुनुहुन्छः

सुन प्रकरण : छानबिनका लागि समिति गठन

काठमाडौँ I भन्सार विभागले बिना जाँच करिब एक सय केजी सुन बाहिरिएपछि एक छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो । 

उक्त समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । करिब एक सय केजी सुन भन्सार विभागको कार्यक्षेत्रबाट बाहिरिएपछि विभागका महानिर्देशक शोभाकान्त पौडेलले आज छानबिन समिति गठन गर्नुभएको हो । 

“विभागका कर्मचारीले आवश्यक चेक जाँच गरे पनि कहिलेकाहीँ प्राविधिक त्रुटिका कारण यस्तो अवस्था देखिनसक्ने भएकाले छानबिन समिति गठन गरिएको हो”, सूचना अधिकारी खड्काले भन्नुभयो ।

राजस्व अनुसन्धान विभागले बुधवार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन् । 

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले मङ्गलवार राति सुन बरामद गरिएको र उक्त सुन भन्सार विभागमार्फत सुरक्षित भण्डारणका लागि नेपाल राष्ट्र बैङ्क पठाइएको जानकारी दिनुभयो । उहाँले सुन बाहिर ल्याउन प्रयोग गरिएको ट्याक्सी र त्यसका चालकलगायतलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताउनुभयो । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button