तपाईँ सुन्दै हुनुहुन्छः

हाजिर गर्न नदिए आन्दोलनमा उत्रने कोहलपुर नगरपालिकाका स्वास्थ्यकर्मीको चेतावनी 

बाँके । कोहलपुर नगरपालिकाका स्वास्थ्यकर्मीहरुले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । कोहलपुर नगरपालिकाले हाजिर गर्न नदिएर आफूहरूलाई अन्याय गरेको भन्दै आक्रोशित भएका स्वास्थ्यकर्मीहरुले आन्दोलनको चेतावनी दिएका हुन ।

आर्थिक वर्ष सुरु भएसँगै कोहलपुर नगरपालिकाले १६ जना स्वास्थ्यकर्मीलाई हाजिर नहुन भन्दै पत्र पठाएको थियो । असार ३० गते बसेको कोहलपुर नगर कार्यपालिकाको बैठकले दरबन्दी भन्दा बढी रहेका स्वास्थ्यका १६ जना कर्मचारीहरूको व्यवस्थापनका लागि भन्दै समायोजन मिलान भन्दा पहिले कार्यरत निकायमा फिर्ता पठाउने निर्णय गरेको थियो । उक्त निर्णयबाट आफूहरू अन्यायमा परेको भन्दै स्वास्थ्यकर्मीहरुले आन्दोलनको चेतावनी दिएका हुन ।

कोहलपुर नगर स्वास्थ्य शाखाका सिनियर अहेव गेहराज खनालले समायोजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएर अपमानजनक व्यवहार गरिएको बताउनु भयो। नगरपालिकाले समायोजनमा कार्यरत कर्मचारीलाई साउन १ गतेदेखि हाजिर गर्न नदिने भएपछि आफूहरू अन्यायमा परेको खनालले बताउनु भयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड, २०७७ र स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलान सम्बन्धि व्यवस्था २०७७ बमोजिम आफूहरू दोहोरो सहमतिका आधारमा विभिन्न मितिमा समायोजन मिलानको अनुसार कोहलपुर नगरपालिकामा हाजिर भई हालसम्म काम गर्दै आएको भएपनि एक्कासी पुरानै ठाउँमा फिर्ता पठाउने निर्णय हुन दुखद भएको सिनियर अहेव शारदा चन्दले बताउनुभयो ।

समायोजनमा कामकाज गर्ने गरि खटाएका कर्मचारीहरूलाई एक्कासी फिर्ता गर्ने निर्णयले अन्याय भएको स्वास्थ्यकर्मीको भनाई छ ।

यसैबिच स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न ट्रेड युनियनहरूले स्वास्थ्यकर्मीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउने बताएका छन् । मङ्गलबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रेड युनियनका प्रतिनिधिहरूले दोहोरो सहमति लिइसकेकाका कर्मचारीहरूलाई पुन पुरानै ठाउँमा फर्कन नैतिक समस्या पर्ने भन्दै केन्द्रिय स्तरबाटै यसको समाधान खोजिने बताए ।

कोरोना महामारीको समयमा आफ्नो ज्यान जोखिममा राखेर काम गरेका स्वास्थ्यकर्मीहरूलाई स्थानीय निकायमै व्यवस्थापन गर्नुको साटो अलपत्र पार्ने गरी पुरानै ठाउँमा फिर्ता पठाउने निर्णय गर्नु निन्दनीय भएको भन्दै उनीहरूले असन्तुष्टि ब्यक्त गरेका छन् ।

बाँकेमा सबै ट्रेड युनियनको तर्फबाट स्थानीय, प्रदेश हुँदै केन्द्रिय स्तरमा समेत यस विषयमा ध्यानाकर्षण पत्र बुझाउने तयारी भइरहेको नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रिय सदस्य देवेन्द्र कुमार केसीले बताउनु भएको छ । विगतको स्थानीय सरकारले लिएको दायित्व अहिलेको सरकारले पनि बहन गर्नुपर्ने भन्दै केसीले स्वास्थ्यकर्मीहरूलाई काम गर्नै नदिने वातावरण निर्माण गर्नु भर्त्सनायोग्य कार्य भएको उल्लेख गर्नुभयो।

ट्रेड युनियन काँग्रेस बाँके जिल्ला अध्यक्ष लोकेन्द्र चन्दले स्वास्थ्यकर्मीहरू माथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै आक्रोश ब्यक्त गर्नुभयो । आफु मातहतका कर्मचारीलाई अभिभावकीय भूमिका निर्वाह गर्न नसक्नु प्रमुख प्रशासकीय अधिकृत र पालिका प्रमुखको कमजोरी भएको उल्लेख गर्दै चन्दले तानासाही रूपमा कर्मचारीलाई फिर्ता पठाउने निर्णय कदापि स्वीकार्य नहुने बताउनु भयो ।

कोहलपुर नगरपालिकाको निर्णयका कारण देशभरका स्वास्थ्यकर्मीहरूलाई असर परेको बताउँदै चन्दले विपद्को समयमा फ्रन्ट लाइनमा खटिएका कर्मचारीलाई दुख दिनु आपत्तिजनक भएको बताउनु भयो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय ट्रेड युनियन बाँके जिल्ला अध्यक्ष राजेन्द्र शाहि, अखिल नेपाल ट्रेड युनियन महासङ्घ बाँके अध्यक्ष राजेन्द्र सिंह लगायतले स्वास्थ्यकर्मीहरूको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने गरी नीतिगत रूपमै ऐन संशोधनका लागि पहल भइरहेको बताएका थिए । उहाँहरूले स्वास्थ्यकर्मीहरुले गर्ने आन्दोलनमा ऐक्यबद्धता समेत जनाउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button