तपाईँ सुन्दै हुनुहुन्छः

वीर र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा

काठमाडौँ । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरङ्ग सेवा (ओपिडी) बिहान ८ बजेदेखि सुरु भएको छ । 

यसअघि बिहान ९ः०० बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो । 

वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले बिरामीलाई सहज सेवा दिने उद्देश्यले ओपिडी सेवा बिहान ८ बजेदेखि सुरु गरिएको जानकारी दिनुभयो । दुवै अस्पतालमा टिकटको समय बिहान ७ः०० बजेदेखि अपराह्न २ः३० बजेसम्म निर्धारण गरिएको उहाँले बताउनुभयो । 

वीर अस्पतालमा शल्यक्रिया सेवा बिहान ८ बजेदेखि सुरु हुने अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले  सबै कर्मचारीको ई–हाजिरी अनिवार्य गरिएको जनाएको छ । अस्पतालबाट दैनिक तीन हजार बिरामीले ओपिडी सेवा लिइरहेका छन् । 

ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले बिहान ८ः१५ बजेदेखि ओपिडी सेवा सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ट्रमा सेन्टरअन्तर्गत रहेका सबै विभागमा बिहानैदेखि ओपिडी सेवा सुरु गरिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) कार्यकारी परिषद्को बैठकले वीर अस्पताल र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button