तपाईँ सुन्दै हुनुहुन्छः

भूईमान्छेको कथामा आधारित कवि विवेकीको ‘चस्मा’ कविता सार्वजनिक 

चितवन । चितवनका कवि विवेकीको ‘चस्मा’ कविता सङ्ग्रह सार्वजनिक भएको छ ।

चितवन साहित्य परिषद्को सभाहलमा आज आयोजित कार्यक्रममा कवि गोविन्दराज विनोदी, डिआर पोखरेल, इन्द्र रेग्मी, उदय अधिकारी र भूपिनले पुस्तक विमोचन गर्नुभएको हो । 

भरतपुर महानगरपालिका ४ निवासी कवि विवेकीको जन्मदिनका अवसरमा पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकमा ५५ वटा कविता छन् । राज्य र समाजले किनारा लगाएकाहरूको पीडा, संवेदना, राजनीतिक विसङ्गति, विकृतिलगायतका प्रसङ्गलाई कविले कवितामार्फत उतारेको वक्ताहरूले बताउनु भयो । पुस्तकका सन्दर्भमा डिआर पोखरेल, उदय अधिकारी र भूपिनले बोल्नु भएको  थियो  । ‘विवेकीका कविता वैचारिक रूपमा प्रष्ट छन्, समीक्षक उदय अधिकारीले भन्नुभयो , हेपिएकाहरूका कथा व्यथालाई उनले कवितामा उतारेका छन् ।’

‘चस्मा’ मूलतः भुईँमान्छेका कथा र राज्यप्रति उनीहरूको आक्रोश र व्यङ्ग्यको शाब्दिक डकुमेन्ट्री भएको भूपिनले बताउनु भयो  । एक कवि कसरी बजार हल्लाबाट टाढा रहेर चुपचाप काव्य साधना गर्छ ? त्यसको सुन्दर उदाहरण हो चस्मा ।‘ भूपिनले भन्नुभयो  ।

प्रमुख अतिथि गोविन्दराज विनोदीले विवेकीले चस्मा कविता सङ्ग्रहमार्फत आफू बाँचेको समाज र जीवनको सङ्घर्षशील समयलाई सुरुचिपूर्ण शैलीमा उतारेको बताउनुभयो  । कार्यक्रममा कवि विवेकीले केही कविता वाचन गर्नुभएको  थियो । पुस्तकको मूल्य ३०० रुपैयाँ राखिएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button