तपाईँ सुन्दै हुनुहुन्छः

चितवनको विकट पहाडी क्षेत्र कान्दामा स्वास्थ्य चौकी निर्माण 

चितवन । राप्ती नगरपालिकाको सबैभन्दा विकट पहाडी क्षेत्र कान्दामा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भएको छ । भवन निर्माण सम्पन्न भएसँगै छिट्टै सेवा सुरु गरिने नगरप्रमुख शमशेर लामाले जानकारी दिनुभयो  । लामाका अनुसार भदौदेखि स्वास्थ्य केन्द्र सञ्चालन गरिनेछ ।

गत वैशाख महिनामा पहिलोपटक नगरप्रमुख, उपप्रमुखसहितको टोली कान्दा पुगेको थियो । कान्दा पुगेर फर्किए लगत्तै बसेको कार्यपालिका बैठकले कान्दामा स्वास्थ्य केन्द्र स्थापना गर्ने र कान्दा पुग्न ट्रयाक खोल्ने निर्णय गरेको प्रमुख लामाले बताउनु भयो  । 

कान्दामा बाटो, बिजुली पुग्न सकेको छैन भने एउटा सिटामोलका लागि पनि कालिटार र यौरालिटार आउनुपर्ने बाध्यता छ । ‘सबै किसिमबाट कान्दा पछाडि छ, एउटा सिटामोलका लागि ४ घण्टा हिँड्नुपर्छ’, नगरप्रमुख लामाले भन्नुभयो , ‘कान्देली जनताको मुहारमा खुसी ल्याउने हाम्रो प्रयास छ, घरआँगनमा स्वास्थ्य सेवा पुगेसँगै उपचारमा थप सहज हुनेछ ।’

भवन निर्माण सम्पन्न भएसँगै अस्पतालमा आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरेर केन्द्र सञ्चालन गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले बताउनु भयो  । केन्द्रमा अहेब, अनमी र कार्यालय सहयोगीको व्यवस्था हुनेछ । संघीय सरकारको आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न भएको हो ।

राप्तीको कान्दा पुग्न यातायातको सुविधा छैन । चार घण्टा हिँडेपछि उक्त ठाउँमा पुग्न सकिन्छ । चेपाङ बाहुल्य रहेको कान्दामा उपचार अभावमा धेरैले ज्यान गुमाउँदै आएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button