तपाईँ सुन्दै हुनुहुन्छः

माडीको चेपाङ बस्तीमा निर्माण भएको आधुनिक शौचालय हस्तान्तरण 

चितवन । युवा व्यवसायीको सामाजिक संस्था राउन्ड टेबल नेपालले चितवनको माडी नगरपालिका वडा नम्बर ७ स्थित पारुली खोलाको बगरमा रहेको चेपाङ बस्तीमा निमार्ण गरेको शौचालय हस्तान्तरण गरेको छ । 

शुक्रबार नगरपालिकाका प्रमुख ताराकुमारी महत्तोको प्रमुख आतिथ्यतामा आधुनिक पक्की शौचालय हस्तान्तरण गरिएको हो । 

नारायणगढ राउन्ड टेबल १४ र काठमाडौँ इलाइट राउन्ड टेबल २ को  सहयोगमा ५ लाख ७५ हजार खर्च गरेर उक्त बस्तीमा ४ वटा शौचालय निर्माण गरिएको थियो । 

हस्तान्तरण कार्यक्रममा प्रमुख महत्तोले शौचालय निर्माणपछि यहाँका १५० घरधुरी रहेको बस्ती लाभान्वित भएको बताउनुभयो । गाँस बासको साथै स्वस्थ जीवन बाँच्न पाउनु नागरिकको अधिकार रहेको भन्दै प्रमुख महत्तोले राउण्ड टेबलको सहयोगप्रति आभार प्रकट गर्नुभयो । उहाँले स्थानीय सरकार नपुगेको ठाउँमा पनि सहयोगी संस्था पुगेको भन्दै मानव सेवा नै सर्वोपरि धर्म रहेको बताउनुभयो । 

संस्थाका केन्द्रिय अध्यक्ष राहुल अग्रवालले संस्थाले शिक्षा, स्वास्थ्य क्षेत्रमा देशभरका विद्यालय तथा समुदायमा सहयोग गर्दै आएको जानकारी दिँदै सरसफाइलाई पनि संस्थाले उत्तिकै महत्त्व दिने बताउनुभयो । आगामी दिनमा पनि देशका विभिन्न क्षेत्र र समुदायमा संस्थाले सहयोग गर्दै जाने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा संस्थाका राउण्ड टेबल १४ का अध्यक्ष विवेक चाचान, पूर्व अध्यक्ष विकास बर्मा, उपाध्यक्ष डा. सन्दीप गर्ग महासचिव राहुल चाचान लगायत अन्य पदाधिकारी एवं सदस्यहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button