तपाईँ सुन्दै हुनुहुन्छः

एचआइभी संक्रमित आमाबुवाबाट जन्मिएका बालबालिका सङ्क्रमणमुक्त हुन थाले

नेपालगञ्ज । एचआइभी संक्रमित आमाबुवाबाट जन्मिएका बालबालिका सङ्क्रमणमुक्त हुन थालेका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालमा चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा रही नियमित औषधि सेवन गरिरहेका आमाबुवाबाट जन्मिएका बालबालिका एचआइभी सङ्क्रमणमुक्त हुन थालेका हुन् ।

रिता केसी (नाम परिवर्तन) एचआइभी संक्रमित हुनुहुन्छ । उहाँका चार छोरी छन् । ती मध्ये तीन जनामा एचआइभी संक्रमण छ । तर, कान्छी छोरी भने सङ्क्रमणमुक्त हुनुहुन्छ । चिकित्सकको निगरानीमा गर्भावस्थाबाटै नियमित औषधि खाएपछि उहाँकी छोरी स्वस्थ जन्मिनुभएको हो ।

उहाँको छोरी मात्र होइन संक्रमित आमाबुवाबाट जन्मिएका अन्य बालबालिका पनि सङ्क्रमणमुक्त छन् । भेरी अस्पतालको रोग प्रतिरोधक क्षमता अभिवृद्धि केन्द्र (एआरटी सेन्टर) मा नियमित औषधि सेवन गर्दै आएका सङ्क्रमित आमाबुवाले जन्माएका शिशुहरू एचआइभी सङ्क्रमणमुक्त छन् । चिकित्सकहरूको सल्लाह अनुसार नियमित एआरटी सेवा लिएका सङ्क्रमितले जन्माएका धेरै बच्चामा एचआइभी संक्रमण नेगेटिभ देखिने गरेको छ ।

अस्पतालका अनुसार पछिल्लो डेढ वर्ष यता सङ्क्रमितबाट जन्मेका १८ महिना भन्दा कम उमेरका ५ जना शिशु पूर्ण स्वस्थ र सङ्क्रमणमुक्त छन् । भेरी अस्पतालमा २०६२ साल फागुनमा एआरटी सेवा सुरु भएको हो । एआरटी युनिटमा अहिले नेपाली र भारतीय गरी ५ सय ६० जना संक्रमित उपचारका लागि नियमित आउने गरेको भेरी अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button