तपाईँ सुन्दै हुनुहुन्छः

फलेवास नगर अस्पतालको विवाद मिल्यो

पर्वत ।  पर्वतको फलेवास नगरपालिकामा अलपत्र अवस्थामा रहेको नगर अस्पताल निर्माणको काम अगाडी बढेको छ । विवादका कारण जग खनेर अलपत्र अवस्थामा रहेको नगर अस्पतालको निर्माण कार्य सर्वपक्षीय छलफल पछि बाँकी रहेको काम अगाडी बढाउने सहमति भएको हो । 

जग्गाको विषयमा विवाद हुँदा निर्माण कार्य रोकिएको थियो । उक्त अस्पताल फलेवास नगरपालिका ६ देवस्थानमा निर्माण गर्न थालिएको हो । साबिकको स्वास्थ्यचौकीलाई स्तर उन्नति गर्ने तथा भवन बनाउने गरि आर्थिक वर्ष २०७७/०७८ मा बोलपत्र आव्हान भई २०७८ असार ३१ मा सम्झौता भएको थियो ।

निर्माण व्यवसायी प्रतिष्ठा–जुम्ली–आचार्य जे.भी. बागलुङले निर्माणस्थल परिवर्तन सँगै संशोधित भएको आर्किटेक्चरल, स्ट्रक्चरल, स्यानिटरी, इलेक्ट्रिक डिजाइन बमोजिम सम्झौता गरेको थियो । उक्त अस्पतालमा सम्झौता बमोजिमका सामाग्रीमा परिमाणमा थपघट, माटो कटिङ लगायतका प्रक्रियाका कारण निर्माणकार्य करिब २ वर्ष अघिदेखि रोकिएको थियो । 

अस्पताल भवनको डीपीआर स्वीकृत नभई निर्माण गर्दै गर्दा भवन निर्माणस्थल परिवर्तन भएको र परिवर्तित निर्माणस्थल बमोजिम नक्सा संशोधन गर्न लगाई प्रक्रिया अघि बढाइएको नगरप्रमुख गंगाधर तिवारीले जानकारी दिनुभयो । 

प्रस्ताव बमोजिम आगामी नगरसभाबाट अनुमोदन गर्ने गरी स्वीकृत गर्ने साथै थप म्याद भित्र भेरिएसन आदेश बमोजिम निर्माणकार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई संशोधित कार्यादेश दिन फलेवास नगरपालिकाको कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको नगरप्रमुख तिवारीले जानकारी दिनुभयो । अलपत्र अवस्थामा रहेको अस्पताल बनेपछि स्थानीय बासिन्दा लाई सामान्य उपचारका लागि पनि सदरमुकाम कुश्मा, पोखरा तथा बागलुङ पुग्नुपर्ने बाध्यता हट्ने तिवारीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button