तपाईँ सुन्दै हुनुहुन्छः

निमित्तकै भरमा बाजुराका पालिका 

बाजुरा । नागरिकको नजिकको सरकार भनेर चिनिने स्थानीय सरकारलाई बुझिन्छ ।  स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा प्रमुख प्रशासकीय अधिकृतको काम कर्तव्य र अधिकार स्पष्ट पारेको छ । तथापि बाजुराका नौ वटै पालिका भने  निमित्तकै भरमा सञ्चालन हुँदै आएका छन् । अधिकांश स्थानीय तहले जन प्रतिनिधिको रोजाईमा कर्मचारी छनौट गरेका छन् । नगरपालिकामा उप सचिव स्तरको प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने र गाउँपालिकामा संघीय तहबाट शाखा अधिकृत स्तरको प्रमुख प्रशासकीय अधिकृत रहने कानुनी व्यवस्था छ ।

  तर, बाजुराका कुनै पनि तहमा पनि उक्त  नियम पालना गरेको देखिँदैन । अधिकांश पालिकामा प्रशासन सेवा समूह बाहिरका  स्वास्थ्य तथा शिक्षा र प्राविधिक समूहका प्राविधिक कर्मचारीले  प्रशासन चलाई रहेका छन् । 

जिल्लाको जेठो नगरपालिका बडिमालिका नगरपालिका स्थापना भएको सात वर्ष भयो । सात वर्षमा नौवटा प्रमुख प्रशासकीय अधिकृत फेरबदल भए । डम्बर थापादेखि रंगमल विकसम्म ६ जना निमित्त प्रमुख प्रशासकीय अधिकृत फेरबदल भएका हुन् । ‘उप–सचिव तीर्थराज भट्टराई र धुब्र कोइरालालाई  पालिकामा काम गर्ने वातावरण नदिएको भन्दै सरुवा गर्न बाध्य पारियो । बाजुरा आउन लागेका उपसचिव अम्मर भट्टलाई टेलिफोन म्यासेज गरी वीचबाटो बाटै फर्काउने खेल भयो’, पूर्व नगरप्रमुख पदम बडूवालको भनाई छ । 

‘बाटोमा आउँदै गरेका उपसचिव भट्टले फ्रोवाड गरेको म्यासेज देखाउँदै  ज्यानको वाजी लगाएर बाजुरा आउन सक्दैन म फर्के भन्नुभयो डोटी पुगेको मान्छे बीचबाट फर्किनुभयो , यस्ता कुकृत्य हुन्छन् कर्मचारीबाट  कसरी काम लिने ?’  पूर्व मेयर बडूवालले भन्नुभयो । 

      ‘विगतमा कसले के गरे? थाह भएन । पहिले को आए को गए पहिलेकालाई सोध्नुस् अहिले कर्मचारीलाई काम गर्ने वातारण दिएका छौँ’, बडिमालिका नगरप्रमुख अम्मर खड्काको भनाई छ ।  ‘संघ सरकारले नीतिगत निर्णय गरेर कम्तीमा एक कार्यकाल जनप्रतिनिधिको नीति कार्यक्रमलाई  सघाउने प्रमुख प्रशासकीय अधिकृत पठाउनु, पर्छ । दुई महिना तिन महिना बसेर जाने उपसचिव नपठाएकै राम्रो , उपसचिवले  सुविधा सम्पन्न ठाउँ नछोड्ने निमित्तबाट पनि त पालिका चलाउनु प¥यो । संघले जे निर्णय गरी पठायो त्यसैबाट काम लिने हो’, नगरप्रमुख खड्काले भन्नुभयो ।  कर्मचारी खटनपटन प्रमुख प्रशासकीय अधिकृतले गर्ने हो, मौजुदा कर्मचारीबाट काम लिन नसक्दा  विकास गतिमा बाधा परेको नगरप्रमुख खड्काको स्वीकारोक्ति छ । 

     बुढिनन्दा नगरपालिकामा त निमित्तलाई पनि आर्थिक अधिकार नदिँदा विगत ६ महिनादेखि नगरपालिकाको कारोबार ठप्प छ ।  ‘गत असोजमा ल्याइएका उपसचिव प्रमुख प्रशासकीय अधिकृत डाक्टर विजय भुर्तेल एम्फिल गर्ने भन्दै सूचना तथा सञ्चार मन्त्रालयमा सरुवा भएपछि  गत कात्तिकदेखि  बुढिनन्दा नगरपालिकाको काम ठप्प छ’,  नगर प्रमुख जनक बोहराको कथन छ । ‘प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्वास्थ्यमा औषधी खरिद भएको छैन, विकास निर्माणका काम गर्न उपभोक्तसँग सम्झौता भएका छैनन् । ठेक्का  बोलपत्रका काम भएका छैनन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा  बाजुरा जिल्लामा सबैभन्दा प्रताडित नगरपालिका हाम्रै नगरपालिका हो’, नगरप्रमुख बोहराको भनाई छ।  

‘प्रमुख प्रशासकीय अधिकृत ल्याउन काठमाण्डौं आएको हप्ता दिन भयो , कम्तीमा एक वर्ष बस्ने अधिकृत पठाइदिनु प¥यो भनिराछु । तर सुनुवाई भएको छैन ।   निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष साहलाई  अधिकार देऊ भन्दा उपसचिव गएको ठाउँमा निमित्तलाई नपठाउने भन्छन् । यता जनताका काम ठप्प छन् संघीय सरकार कर्मचारी पठाउन उदाशिन देखिन्छ’, नगरप्रमुख बोहराले भन्नुभयो ।  

‘पार्टीगत गरेर  नगर कार्य समितिले सन्तोष साहलार्ई  निमित्त प्रमुख प्रशासकीय अधिकृतमा बहुमतको आधारमा निर्णय गरे । यो वैधानिक छैन भनेर  तीन जना वडा अध्यक्षले बहिस्कार ग¥र्यौ’,बुढिनन्दा ९ का वडा अध्यक्ष मानबहादुर रावलको भनाई छ ।   ‘नगर कार्य समितको निर्णय मन्त्रालयले अस्वीकार गरिदियो । सम्पन्न कामको  भुक्तानी पनि पाएको छैन, नयाँ काम सम्झौता पनि भएको छैन , यो आर्थिक वर्षमा कुनै काम नहुने भयो’, वडाअध्यक्ष रावतको भनाई छ । 

‘गत माघमा लेखापाल काठमाडौं पुगेर ठमेल ब्रान्चबाट तलब हालेका थिए । यसपाली कहाँबाट कर्मचारीको तलब पोष्टिङ्ग गर्ने हुन् थाह छैन’, सत्य मा.वि. पाण्डुसैनका शिक्षक जनक बहादुर शाहीको भनाई छ । 

 त्यस्तै हिमाली , स्वामी कार्तिक र जगन्नाथ गाउँपालिकामा स्वास्थ्य सेवा र कम्प्युटर अपरेटर  निमित्त प्रमुख प्रशासकीय छन् । त्रिवेणी नगरपालिकाको प्रमुख प्रशासकीयमा अहेव निमित्त छन् ।  बडिमालिका नगरपालिकामा रंगमल विक विद्यालय निरीक्षकबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन् । बुडिगंगा नगरपालिकामा छैटौँ तहका अधिकृत छन् ।

 सर्वाधिक चर्चामा रहेको बुढिगंगा नगरपालिकामा  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गत फागुन १६ गते सरुवा भई आएका उपसचिव पदमलाल लामिछानेलाई नपठाउन नगरपालिकाले  सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो । निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथलाई कायम गर्न पत्राचार गरेको थियो । त्यसैगरी गौमुल गाउँपालिका र खप्तड क्षेडेदह गाउँपालिकामा पनि निमित्तले चलाएका छन्  गौमुलमा निमित्तकै भरमा काम चलेको छ । 

‘जिल्लाका अधिकांश पालिकामा मेयर ,उपमेयर ÷अध्यक्ष उपाध्यक्षको सेटिङ्गमा प्रमुख प्रशासकीय अधिकृत ल्याइन्छन् । सेटिङ्ग नमिलेका पालिकामा प्रमुख प्रशासकीय अधिकृत बस्ने वातावरण हुँदैन’, बुढिनन्दा नगरपालिका वडा न सातका वडाध्यक्ष अशोक दानीको बुझाई छ ।  ‘सेटिङ्ग नमिले प्रमुख प्रशासकीय अधिकृत बस्ने वातावरण छैन, मस्ती जनप्रतिनीधीलाई  सास्ती नागरिकलाई’, स्थानीयको गुनासो छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button