तपाईँ सुन्दै हुनुहुन्छः

‘बेग्लै आकाश’ र ‘खटप्वाल’ लोकार्पण

काठमाडौँ । साहित्यकार धनेन्द्र ओझाको कृति ‘बेग्लै आकाश’ र प्रमोद प्याकुरेलको ‘खटप्वाल’ उपन्यास आज लोकार्पण गरिएको छ ।

काठमाडौँमा आज आयोजित कार्यक्रममा जीवनी र व्यक्तित्व समेटिएको कृति ‘बेग्लै आकाश’को लोकार्पण पूर्व मन्त्री शङ्कर प्रसाद कोइराला, पूर्व मुख्यसचिवहरू विमल कोइराला, भोजराज घिमिरे, डा. कृष्णहरि बराल लगायतका स्रष्टाले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।

कृतिमा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द सहित पूर्व मुख्य सचिव, सचिव र साहित्यकार गरी १४ जना स्रष्टाको जीवनी र व्यक्तित्व समेटिएको छ ।

यसैगरी प्रमोद प्याकुरेलको उपन्यास ‘खटप्वाल’को साहित्यकार रमा शर्मा र गीतकार यादव खरेलले लोकार्पण गर्नुभयो ।

उपन्यास ‘खटप्वाल’मा समाजमा हुने विविध घटनाहरूलाई यथार्थ रुपमा चित्रण गरिएको पुस्तकका समीक्षक डा. अशोक थापाले बताउनुभयो ।

यस अघि प्याकुरेलको झुल्या कागज नामक कथा सङ्ग्रह प्रकाशित भइसकेको छ ।

पेज टर्नर प्रकाशन प्रा लिको वार्षिक उत्सवका अवसरमा आयोजित सो कार्यक्रममा साहित्यिक अनलाइन पोर्टल निरुपण डक कम र अङ्ग्रेजी बाल पत्रिकाको अनलाइन पोर्टलको समेत शुभारम्भ गरिएको छ ।

अनलाइन बाल पत्रिकामा बालबालिकाका लागि लक्षित गरेर र विषय वस्तु समावेश गरिने र यो नेपालको पहिलो अनलाइन बाल पत्रिका रहेको प्रकाशनका अध्यक्ष भरत पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button