तपाईँ सुन्दै हुनुहुन्छः

खडेरीले सल्यानमा सुक्न थाल्यो हिउँदे बाली 

सल्यान । यस वर्षको हिउँदयाममा वर्षा नभएपछि हिउँदे बाली खेतबारीमै सक्न थालेका छन् । 

हिउँदे बाली लगाएदेखि एक पटक मात्र वर्षा हुँदा सल्यानका किसान चिन्तित भएका छन् । हिउँदे वर्षा नभएपछि यो वर्ष उत्पादनमा पनि कमी आउने अनुमान गरिएको छ । 

वर्षा नभएपछि सिँचाइको अभावले गहुँ, जौ, चना, मुसुरो लगायतका हिउँदे खेती खेतबारीमै सक्न थालेको शारदा नगरपालिका ६ खतिगाउँकी द्रुपति खत्रीले बताउनुभयो । “यो समयमा गत वर्ष धेरै पटक वर्षा भएको थियो, तर अहिले एक पटक पनि पानी परेको छैन । पाखोबारीमा लगाएको गहुँ, तोरी, मुसुरो सबै सुक्न थालेका छन् ।” उहाँले भन्नुभयो । 

आकाशे झरी नहुँदा बारीमा छरेको बीउ पनि उठ्दैन जस्तो भएको अर्का किसान अमृता बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो “आकाशबाट पानी नपर्दा पाखोबारीमा त केही भएन सिँचाई भएको खेतको बालीनाली पनि राम्रो छैन । आकाशे पानी जस्तो हुँदो रहेनछ ।”

खडेरीका कारण हिउँदे बालीको उत्पादनमा कमी आउने भएपछि खाद्यान्न आयातमा वृद्धि हुने आँकलन गरिएको छ । वर्षा नहुँदा हिउँदे बालीका साथै फलफूलका बोटबिरुवा पनि सुक्दै गएको धिरना बुढाथोकीले बताउनुभयो । सिँचाइ सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव परेको र यसले उत्पादनमा कमी आउने उहाँको भनाई छ । उहाँले भन्नुभयो “जिल्लामा अधिकांश भिरालो ठाउँमा खेती हुँदै आइरहेको छ, आकाशे पानीका भरमा खेती हँुदै आइरहेको छ, यो वर्ष लामो खडेरी भयो, जसका कारण भिरालो जमिनमा हिउँदे बाली निकै कम  छ ।”

कृषि विकास कार्यालयका अनुसार जिल्लामा करिब १४ हजार २ सय हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको छ । ४५ हजार ५ सय ६७ हेक्टर खेतीयोग्य जमिन मध्ये ३८ हजार ९ सय २६ हेक्टरमा मात्र खेती हुँदै आइरहेको छ । सिँचाई सुविधा नहुँदा यहाँका किसानहरूले आकासे पानीको भरमा खेती गर्दै आइरहेका छन् । 

७ हजार ५९ हेक्टर खेत र ३१ हजार ८ सय ६७ हेक्टर पाखो बारी रहेको जिल्लामा करिब १० हजार हेक्टरमा मात्र आंशिक तथा वर्ष भरी सिँचाई सुविधा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button