तपाईँ सुन्दै हुनुहुन्छः

सात महिनामा सवारी दुर्घटनामा २२ जनाको मृत्यु

File Photo

नवलपुर । चालु आर्थिक वर्ष ०७९/०८० को सात महिनामा सवारी दुर्घटनामा परि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा २२ जनाले ज्यान गुमाएका छन् । 

चालु आर्थिक वर्षको सात महिनामा नवलपुरमा भएका ४७ वटा सवारी दुर्घटना परि २२ जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा  १ सय ४८ जना घाइते भएका छन् । जसमध्ये ६१ जना गम्भीर र ८७ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्याङ्कले देखाएको छ ।

प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सात महिनाको अवधिमा सबैभन्दा धेरै मङ्सिर महिनामा सवारी दुर्घटना धेरै भएको छ । यस्तै दुर्घटनाबाट सबैभन्दा धेरै पनि सोही महिनामा आठ जनाले ज्यान गुमाएका छन् । क्रमशः श्रावणमा ३ जना , भदौ, असोज र माघमा एक/एक जना, कात्तिकमा ६ जना र पुसमा २ जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रहरी प्रमुख भुवनेश्वर तिवारीका अनुसार साढे दुई वर्षको सवारी दुर्घटनाको तथ्याङ्क हेर्दा दुर्घटनामा केही कमी आएको छ । 

आर्थिक वर्ष ०७७÷०७८ मा १ सय १३ वटा सवारी दुर्घटनाबाट ४६ जनाले ज्यान गुमाएका थिए । भने, २ सय २० जना घाइते भएका थिए ।  ०७८ ÷०७९ मा ९५ वटा सवारी दुर्घटनामा परी ४१ जनाको मृत्यु र २४८ जना घाइते भएका थिए । जिल्लामा साढे दुई वर्षमा २६५ वटा सवारी दुर्घटना भएका छन् । भन,े एक सय नौ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएको र ६ सय १६ जना घाइते भएका प्रहरी प्रमुख तिवारीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको सक्रियताका कारण दुर्घटना सङ्ख्या र मृतक सङ्ख्या घटेको तिवारीको भनाई छ । 

नवलपुर गण्डकी प्रदेश कै सबै भन्दा धेरै सवारी दुर्घटना हुने जिल्ला हो । यहाँ सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । 

जिल्ला प्रहरी कार्यालय , जिल्ला ट्राफिक प्रहरीले, रोड सेफ्टी टिप्स, रोड सेफ्टी कर्नर अभियान, नमस्ते अभियान, चालकसँग एक मिनेट कार्यक्रम, विद्यालय सचेतना कार्यक्रम, यात्रु सहायता कक्ष स्थापना र प्रशिक्षण, अन्तरक्रिया कार्यक्रम, कृत्रिम सडक दुर्घटना उद्धार तथा व्यवस्थापन सिमुलेशन, हुस्सु लाग्दा र रातको समयमा टल्किने स्टिकर टाँस्ने अभियान, प्रेसर हर्न हटाउने अभियान, ट्राफिक चेकिङ लगायतका अभियान सञ्चालन गरेपछि दुर्घटना घटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button