तपाईँ सुन्दै हुनुहुन्छः

शत प्रतिशत नागरिकलाई हात्तीपाइले विरुद्धको औषधि खुवाउनुस् : अध्यक्ष तिमिल्सिना                     

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शत प्रतिशत नागरिकलाई हात्तीपाइले विरुद्धको खुवाउन अनुरोध गर्नुभएको छ । 

पर्वतमा १४ औँ चरणको हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियानको शुरुवात गर्दै अध्यक्ष तिमिल्सिनाले विगतमा सबै नागरिकले औषधि नखाँदा रोग निवारण नभएकाले यसपालि शत प्रतिशत नागरिक लाई औषधि खुवाउन आव्हान गर्नुभएको हो ।  

पर्वतको कुस्मामा स्वास्थ्य कार्यालय पर्वतले थालेको हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियानको उद्घाटन गर्दै तिमिल्सिनाले अब पुनः औषधि खुवाउनुपर्ने बाध्यता आउन नहुने कुरामा सचेत हुन निर्देशन दिनुभयो । 

जिल्ला समन्वय समिति पर्वतका अध्यक्ष विष्णुराम बिकलाई औषधि वितरण गर्दै उहाँले अभियानको शुरुवात भएको घोषणा गर्नुभएको हो । 

अध्यक्ष तिमिल्सिनाले जिल्लास्थित सबै सरकारी निकाय मातहतमा रहेका कार्यालयका कर्मचारी लाई औषधि खुवाएर सो को विवरण प्रमुख जिल्ला अधिकारी समक्ष विवरण बुझाउन निर्देशन दिनुभएको थियो । 

पर्वतमा यसवर्ष १ लाख ३२ हजार जनसङ्ख्या लाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी छ । स्वास्थ्य कार्यालय पर्वतले स्वास्थ्य सुधार सम्बन्धी प्रतिवेदन स्वास्थ्य कार्यालयका प्रमुख सन्तोष पौडेलले अध्यक्ष तिमिल्सिना समक्ष प्रस्तुत गर्नुभएको थियो । 

आजबाट पर्वतका सात वटै स्थानीय तहले हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शुरु गरेका छन् । स्वास्थ्य कार्यालयले यो वर्ष अन्तिम चरणमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button