तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकीय स्थलको समुचित विकासमा राष्ट्रपतिको जोड

पर्वत । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका धार्मिक तथा पर्यटकीय स्थलको समुचित विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । 

कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धि एवम् रोजगारीको सिर्जना गर्दै स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने उहाँको भनाई छ । पर्यापटनको विकासले ग्रामीण अर्थतन्त्र बलियो बन्ने उहाँले बताउनुभयो । 

पर्वतको जलजला गाउँपालिकाको धार्मिक तथा पर्यटकीय स्थल हम्पाल लेकको अवलोकनमा आउनुभएका भण्डारीले पर्यटकीय स्थलहरूको प्रचारप्रसार र गन्तव्यको पहिचानमा तिनै तहका सरकारले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको हो । राष्ट्रपति भण्डारीले पर्वतको जलजला गाउँपालिकास्थित धार्मिक पर्यटकीय स्थल वराह तालमा निर्माण भएको आदि वराह मन्दिरको उद्घाटन पनि गर्नुभएको छ  । उक्त अवसरमा पर्यटन मार्फत समृद्धि हाँसिल गर्न सकिने बताउँदै राष्ट्रपति भण्डारीले ग्रामीण क्षेत्रका नागरिकको जीवनस्तर उकास्न पनि ग्रामीण पर्यटनले योगदान गर्न सक्ने बताउनुभयो । 

पर्वतमा सरकारले एक सय गन्तव्यको रुपमा सूचिकृत गरेको स्थानमा पूर्वाधार विकास गर्न स्थानीय तहले पहल गर्न भण्डारीले आग्रह गर्नुभयो । पहिलो पटक पर्वतको हम्पाल आउनुभएका भण्डारीले यहाँको दृश्यअवलोकनले आफू मन्त्रमुग्ध भएको बताउनुभयो  । पर्वत जिल्ला पर्यापर्यटनको विकासमा धेरै सम्भावना भएको जिल्ला भएकाले सरोकारवालाहरुले यहाँको विकासमा विशेष ध्यान दिनुपर्ने भण्डारीले सुझाव दिनुभयो । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि उक्त कार्यक्रममा सहभागी हुनुभएको थियो । उहाँले धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको हम्पाल क्षेत्र र जलजला क्षेत्रको विकासमा आफु जिल्ला विकास समितिको सभापति हुँदै राष्ट्रियसभाको अध्यक्ष भएदेखि सहयोग गर्दै आएको स्मरण गर्नुभयो । हम्पालमा पर्यटक ल्याउन जलजला गाउँपालिकाले थालेको पहल प्रशंसनीय रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । 

हम्पालको विकासमा गाउँपालिकाले थालेको पहलमा आफ्नो साथ र समर्थन रहेको उहाँले बताउनुभयो । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, संविधान सभा सदस्य अर्जुनप्रसाद जोशी लगायत राष्ट्रपतिको भ्रमण टोलीमा सहभागी हुनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button