तपाईँ सुन्दै हुनुहुन्छः

भुकम्पले स्वास्थ्यचौकी चिराचिरा  

गौमुल र हिमालीको बस्ती उच्च जोखिममा

बाजुरा । माघ १० गते बाजुराको हिमाली गाउँपालिका बिच्छ्या केन्द्रबिन्दु बनाएर आएको भुकम्पका कारण बढिमालिका नगरपालिका, गौमुल र  हिमाली गाउँपालिकाका दर्जनौँ बस्ती जोखिममा परेका छन् । कयौँ घर भत्केका र कयौँ घर चिराचिरा परेकाले बस्न लायक नभएको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताउनुभयो । 

जिल्लाका  नौ मध्ये सात वटा पालिकाको स्थलगत निरीक्षण गर्दा बढी पहिरो र भुकम्प लगायत प्राकृतिक प्रकोपका कारण बाजुरा उच्च जोखिममा रहेको पनि उहाँको भनाई थियो । जिल्लामा के कति क्षति भएको छ एकिन विवरण पेश गर्न स्थानीय पालिकासँग समन्वय गरी सङ्कलन कार्य अघि बढेको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो ।  यसैबीच गौमुल  गाउँपालिका २ दहकोटमा रहेको दहकोट स्वास्थ्य चौकीको भवन चिराचिरा परेको छ । स्वास्थ्यचौकीको भवन चर्किएर चिराचिरा परेको स्वास्थ्यचौकीले जनाएको  छ ।

स्वास्थ्य चौकीको भवन चर्किएपछि सेवा लिन आएका बिरामीलाई सेवा दिन समस्या भएको छ । जोखिम भवनमा स्वास्थ्यकर्मीहरुले बिरामीको उपचार गरिरहेका छन् । भुकम्पबाट स्वास्थ्य चौकीको भवन चर्किएर भित्र बस्न नमिल्ने भएपछि सेवा लिन आएका सेवाग्राहीलाई उपचारमा समस्या भएको दहकोट स्वास्थ्य चौकीकी अनमी सरिता विष्टले बताएकी छन् ।

स्वास्थ्यचौकीमा आएका बिरामीलाई बाहिर बसेर सेवा दिनु परेको विष्टले बताउनुभयो । भुकम्पले पुरै भवन चर्किएर पछि डरै डरले सेवा दिनु परेको स्वास्थ्य कर्मी धर्म खत्रीले बताउनुभयो । ज्यान जोखिममा राखेर सेवा प्रवाह गर्दै आएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

स्वास्थ्य संस्थामा आएका बिरामी र सुत्केरी हुन आएकी गर्भवती महिलालाई समेत बाहिर राखेर सेवा प्रवाह गर्नु परेको स्वास्थ्यकर्मीको भनाई रहेको छ । गर्भवती सेवा सञ्चालनमा समेत निकै समस्या आएको छ । भवन भित्र उपचार गरम पुरै चिराचिरा कतिबेला भत्किने हो, थाहा छैन, खुला ठाउँमा उपचार गर्नुपरेको  स्वास्थ्यकर्मीले  बताएका छन् ।

सोही वडामा रहेको पशु सेवा शाखाको भवन समेत भुकम्पले चर्किएर चिराचिरा परेको छ । भुकम्पले घर नै जोखिममा भएपछि कृषकलाई सेवा दिन कठिनाइ भएको छ । भुकम्पका कारणले गौमुल गाउँपालिकामा एकजनाको मृत्यु भएको थियो, भने ५ सय बढी परिवार घर चिराचिरा परेका छन् । २० परिवार पूर्ण रुपमा विस्थापित भएको गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले बताउनुभयो ।

अध्यक्ष रोकायाले स्वास्थ्य चौकीको भवन जोखिममा रहेको व्यवस्थापन गर्न पहल भइरहेको छ । पालिकामा सीमित स्रोत साधन र बजेट अभावले भुकम्प प्रभावितलाई पुनर्स्थापना गर्न समस्या भएको बताउनुभयो । पालिकामा रहेको स्वास्थ्य चौकी, विद्यालयका भवन भुकम्पका कारणले जोखिममा रहेको गाउँपालिकाले बताएको छ । 

भुकम्पकै कारण बाजुराका हिमाली, गौमुल र बडिमालिका नगरपालिकाका दुई हजार बढी नागरिकका घर चर्किएका छन् भने हिमाली चार बोर्ता र गौमुलका केही परिवार अहिले पनि त्रिपालको मुनी खोलाको किनारमा रात बिताउँदै आएका छन्  ।  बडिमालिका नगरपालिका वडा नं सात मा भने वास्तविक भुकम्प पीडितको राहात विवरणमा नाम छुटाएको र  राजनीतिक आस्थाका आधारमा नामावली सङ्कलन गरेको स्थानीयले दुखेसो गरेका छन् ।  

परोपकारी संस्था नेपाल रेडक्रस लगायत विभिन्न संघ संस्थाले तत्काल उद्धारका लागि खाद्यान्न र लत्ताकपडा मानवीय सहयोग गरेपनि भुकम्प पीडित लगायत लगायत  दैवी प्रकोपमा परेका समुदायको दिगो समाधानको भने हाल सम्म कुनै ठोस योजना  देखिँदैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button