तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक सङ्कटमा पर्वतका सामुदायिक क्याम्पस

पर्वत ।  पर्वतका सामुदायिक क्याम्पस आर्थिक अभावको मारमा परेका छन् । जिल्लाभर हाल १२ वटा सामुदायिक क्याम्पस सञ्चालनमा छन् । ती क्याम्पसमा विद्यार्थीहरूको संख्या कम छ भने सरकारी अनुदान केही नपाउँदा क्याम्पसको अवस्था दयनीय बनेको हो । 

गुप्तेश्वर र शिवालय बहुमुखी क्याम्पस सदरमुकाममा सञ्चालित छन् भने ग्रामीण क्षेत्रमा सञ्चालित सङ्कर पोखरी बहुमुखी क्याम्पस, बहाकी क्याम्पस, जनता सुदर्शन, नव जागृत क्याम्पस लगायतका क्याम्पसमा न्यून विद्यार्थी छन् । क्याम्पसको प्रमुख आर्थिक स्रोत विद्यार्थीबाट उठ्ने शुल्क हो । धेरैजसो पुरुष विद्यार्थी वैदेशिक रोजगारी रोज्ने, जिल्लाभन्दा बाहिर गएर पढ्ने गर्दा गाउँका क्याम्पसमा विद्यार्थी कम भएका हुन् । गुप्तेश्वर बहुमुखी क्याम्पसका प्रमुख सुभाष पन्तले बिद्यार्थीहरुको संख्या कम हुँदा र अनुदान घट्दा व्यवहार चलाउन मुस्किल भएको बताउनुभयो । 

सदरमुकामका क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले वार्षिक १९ लाख हाराहारी अनुदान दिँदै आए पनि ग्रामीण क्षेत्रका क्याम्पसमा विद्यार्थी संख्या, नतिजा, पूर्वाधार लगायत मापदण्ड नपुग्दा अनुदानबाट वञ्चित छन् । समुदायमा देउसीभैलो खेलेर, लाहुरेको स्वागत गरेर र नेताका जोडबलमा विभिन्न निकायबाट आर्थिक सहायता पाएपनि दिगो आम्दानीको स्रोत नहुँदा सामुदायिक क्याम्पस आर्थिक सङ्कटबाट गुज्रिएको शिवालय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णु नेवारले बताउनुभयो ।  

पर्वत जिल्लाको फलेबास नगरपालिका–६ देविस्थानस्थीत जिल्लाकै पुरानो पर्वत बहुमुखी क्याम्पस स्थानीय अगुवाले २०४१ सालमा स्थापना गरेका थिए । क्याम्पस स्थापना भएको ४ दशक पुग्न लाग्यो । यो अवधिमा कतिपय पूर्व विद्यार्थी देशको उच्च तहमा पुगे । केही अहिले पनि देशको भाग्य रेखा कोर्न व्यस्त छन् । क्याम्पस भने यतिबेला करिब डेढ करोड ऋणको भारी बोकेर जीर्ण संरचना सहित सङ्घर्ष गरिरहेको छ ।

पर्वतको कुश्माबजारमा सञ्चालित गुप्तेश्वर बहुमुखी क्याम्पसलाई अहिले सम्म त्रिभुवन विश्वविद्यालयले आङ्गिक क्याम्पसको अनुमति दिएको छैन । विश्वविद्यालय अनुदान कार्यक्रम मार्फत वर्षेनी १३ लाखहाराहारी आउने रकमले दुई प्राध्यापक पाल्न पनि मुस्किल छ । क्याम्पसको दिगो आयस्रोत नहुँदा निजी स्रोतका प्राध्यापकको तलब खुवाउनुपर्ने, पूर्वाधार विकास गर्नुपर्ने, मसलन्द खर्च, भैपरी आउने खर्च धान्नुपर्ने चुनौती देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button