तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन पद्धतिबारे विश्वास अभिवृद्धि गराउन आग्रह

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद्धतिबारे मतदाताको विश्वास अभिवृद्धि गराउन र मतदानमा आम सहभागिता बढाउन सञ्चार माध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

file photo

आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा निर्वाचन विषय हेर्ने पत्रकारहरूसँग आयोगले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख आयुक्त थपलियाले लोकतन्त्रको जीवन्त पक्ष नै आवधिक निर्वाचन भएकाले यसबारे नियमित बहस र सम्प्रेषण गराउन आग्रह गर्नुभयो । उहाँले संवैधानिक व्यवस्थाअनुसार विद्यमान निर्वाचन प्रणालीमा दलले नै उम्मेदवारी दिने र उसैले जित्ने तथा हार्ने कुरालाई स्थापित गर्नुपर्ने बताउनुभयो ।

प्रमुख आयुक्त थपलियाले जसरी पनि जित्नैपर्छ भनेर गलत हर्कत गर्ने अभ्यास स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि उपयुक्त नहुने उल्लेख गर्दै गत स्थानीय तहको निर्वाचनमा मतदाता नामावली, बदर मत, मतपत्रको ढाँचा आदि विषयमा देखिएका कतिपय कमजोरीबाट यस पटकको निर्वाचनमा पाठ सिकिने जनाउनुभयो । उहाँले आउँदो निर्वाचनमा एकीकृत सूचना प्रवाहको संयन्त्र खडा गरिने तथा मतदानका दिन सवारी साधनको आवागमनलाई आवश्यकताअनुसार खुकुलो बनाइने स्पष्ट पार्नुभयो ।

सबै निर्वाचन आयुक्त र आयोगका सचिव सहभागी कार्यक्रममा पत्रकारहरूले सूचना व्यवस्थापन र प्रवाहको प्रणालीलाई अझ व्यवस्थित, एकीकृत र छिटो छरितो एवं आधिकारिक बनाउन सुझाव दिनुभएको थियो ।

कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्सिर ४ गते हुने निर्वाचनको तयारी र व्यवस्थापनबारे तथा सञ्चार विज्ञ किरण चापागाईँले गलत सूचना, दुष्प्रचार र निर्वाचनबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button