तपाईँ सुन्दै हुनुहुन्छः

नेता गिरीको अन्त्येष्टि आजै गरिने

काठमाडौं । कांग्रेस नेता प्रदीप गिरीको अन्येष्टि आजै गरिने भएको छ । अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको हाे । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो ।

विगत लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उहाँलाई साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्र प्रदिप गिरीको जन्म विसं २००४ मा सिरहाको बस्तीपुरमा भएको हो ।
समाजवादी चिन्तक नेता गिरी नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक हुनुहुन्थ्यो । नेता गिरी २०२१ सालको राजनीतिक परिवर्तनपछि राजनीतिमा सक्रिय हुनुभएको हो । हाल प्रतिनिधिसभा सदस्य रहनुभएका उहाँ २०२४ सालमा बनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित हुनुभएको थियो ।

उहाँ विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधान सभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भइ संविधान निर्माणको जिम्मेवारीमा संलग्न हुनुभएको थियो । यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन हुनुभएको थियो । नेता गिरी प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा सिरहा १ बाट निर्वाचित हुनुभएको हो ।

नेपाली कांग्रेंसका प्रमुख सचेतक मीनबहादुर विश्वकर्माका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ।

त्यसअघि बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिएको छ ।
बिहान साढे ११ बजेदेखि दुई बजेसम्म श्रद्धाञ्जलीका लागि सानेपामा राखेपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button