तपाईँ सुन्दै हुनुहुन्छः

खेमराज गुरुङ स्रष्टा सम्मान श्रेष्ठ र प्रतिभा पुरस्कार ढुङ्गानालाई प्रदान

किमाथाङ्का । अमर स्रष्टा खेमराज गुरुङको स्मृतिमा स्थापना गरिएको खेमराज गुरुङ ट्रष्टले यस वर्षको स्रष्टा सम्मान वरिष्ठ सङ्गीतकर्मी दीप श्रेष्ठलाई प्रदान गरेको छ ।

विसं २०२५ पुस ३ गते रेडियो नेपालमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गरेर औपचारिक रूपमा गीत÷सङ्गीतको क्षेत्रमा लाग्नुभएका श्रेष्ठको पाँच सयभन्दा बढी गीत रेकर्ड भएका छन् ।

लोकप्रिय टेलिभिजन गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को कोच (जज)समेत भइसक्नुभएका श्रेष्ठलाई ट्रष्टले नगद रु ५० हजारको राशिसहित सम्मान पत्र प्रदान गरेको हो । 

यसअघि यस्तो सम्मान वरिष्ठ गीतकार रत्नसम्शेर थापा (२०७४), वरिष्ठ सङ्गीतकार प्रकाश गुरुङ (२०७५), वरिष्ठ जनपक्षीय गायक रामेश (२०७६) लाई प्रदान गरिएको थियो ।

खेमराज गुरुङ ट्रष्ट नेपाली गीत, सङ्गीत, कला, साहित्य र संस्कृतिको श्रीवृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने, नयाँ प्रतिभालाई पुरस्कृत गर्दै हौसला प्रदान गर्ने तथा अग्रज स्रष्टालाई सम्मान गर्नेलगायत उद्देश्य राखेर विसं २०७४ मा स्थापना गरिएको हो । 

सङ्खुवासभामा जन्मिनुभएका स्व गायक गुरुङका ‘वारि जमुना, पारि जमुना’लगायत दर्जनौँ लोकप्रिय गीतका सर्जक गुरुङको विसं २०७३ भदौमा कृष्ण जन्माष्टमीको दिन निधन भएको थियो ।

यसैगरी ट्रष्टले प्रतिभा पुरस्कार गायक भविन ढुङ्गानालाई प्रदान गरेको छ । नेपाल टेलिभिजनबाट प्रसारण भएको गायन रियालिटी शो ‘नेपाली तारा’को पहिलो सिजनको उत्कृष्ट चारमा पर्न सफल ढुङ्गाना पछिल्लो समय लोकप्रिय टेलिभिजन गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को कोच दीप श्रेष्ठको सङ्गीत सल्लाहकार थिए ।

दर्जनौँ गीतका स्वर र सङ्गीत भरेका ढुङ्गाना त्रिभुवन विश्वविद्यालय ललितकला क्याम्पसका सङ्गीत शिक्षकसमेत हुनुहुन्छ  । प्रतिभा पुरस्कारको राशि भने नगद रु २० हजार छ । 

यसअघि यस्तो पुरस्कार मेलिना राई (२०७४), ओमप्रकाश राई(२०७५) र सुसन लामा (२०७६)लाई प्रदान गरिएको थियो । विसं २०७७ र २०७८ को सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भने कोभिड–१९ महामारीका कारण स्थगित गरिएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button