तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी समायोजनको मागसहित दोस्रो दिन पनि धर्ना जारी

जनकपुरधाम । प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारका मन्त्री एवं प्रदेश सभाका सदस्यहरुले आज दोस्रो दिन पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिनुभएको छ ।

file photo

प्रदेश प्रमुखको कार्यालय परिसरमा निर्माण गरिएको पण्डाल सहितको मञ्चमा मन्त्रीहरूले धर्ना दिनुभएको छ । आजको धर्नामा अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, जनता समाजवादी पार्टी नेपालका प्रदेश सभाका सचेतक शैलेन्द्र यादव, पूर्व राज्यमन्त्री सुरेश मण्डल सहितका व्यक्तिहरू सहभागी हुनुभयो ।

प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको र सुनुवाई नभएपछि आन्दोलनमा उत्रनुपरेको मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिनुभयो ।

उहाँले आफूहरूको मागको सम्बोधन भएको खण्डमा तत्कालै धर्ना स्थगित हुने पनि जानकारी दिँदै प्रदेश प्रहरीको व्यवस्था संविधानले नै गरेको कारणले प्रदेशमा शान्ति सुरक्षाको व्यवस्था गर्न प्रहरी समायोजन तत्काल हुनुपर्ने धारणा राख्नुभयो ।

हिजोको धर्नामा मुख्यमन्त्री लालबाबु राउत सहितका प्रदेश सरकारका वरिष्ठ मन्त्रीहरू धर्नामा बस्नुभएको थियो । एक सातासम्म प्रत्येक दिन २ घण्टा धर्ना दिने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button