तपाईँ सुन्दै हुनुहुन्छः

फोनिजले चार पत्रकारलाई पुरस्कृत र तीन पूर्वअध्यक्षलाई अभिनन्दन गर्दै 

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चार पत्रकारले पाउने भएका छन् ।

फोनिजका महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिअनुसार यस वर्षको पुरस्कार छापातर्फ सुनसरीका गोपाल देवान, अनलाइनतर्फ काठमाडौँका अनिता गुरुङ, टेलिभिजनतर्फ चितवनका राजु चौधरी र रेडियोतर्फ उदयपुरका अप्सरा समाललाई प्रदान गरिने छ । 

त्यस्तै यस वर्षको ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान’ बुङ्वाखा मासिकलाई प्रदान गरिने भएको छ । बुङ्वाखाले बान्तावा भाषा, साहित्य र मातृभाषा पत्रकारिताको विकासमा टेवा पुर्‍याउँदै आएको छ ।

पुरस्कार र सम्मान फोनिजको २३औँ स्थापना दिवसका अवसरमा २०७९ साउन २७ गते काठमाडौँमा आयोजना गरिने मूल समारोहमा प्रदान गरिने छ ।

तीन पूर्वअध्यक्षलाई अभिनन्दन गर्दै 

त्यस्तै महासङ्घले साङ्गठनिक जीवनमा अतुलनीय योगदान पुर्‍याएको भन्दै संस्थापक अध्यक्ष र दुई पूर्वअध्यक्षलाई अभिनन्दन गर्न लागेको हो । 

फोनिजले संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ, पुर्वअध्यक्षद्वय खिम घले र मोहनसिंह लामालाई २३औँ स्थापना दिवसको अवसरमा अभिनन्दन गर्ने निर्णय गरेको महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित विशेष समारोहमार्फत उनीहरुलाई अभिनन्दन गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button