तपाईँ सुन्दै हुनुहुन्छः

आयोग नयाँ प्रविधि र नयाँ अभ्यासका साथ अघि बढ्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया 

File photo

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न सङ्घीय र प्रदेश सभाको  निर्वाचनमा नयाँ प्रविधि र नयाँ अभ्यासका साथ आयोग अघि बढ्ने बताउनुभएकाे छ ।

उहाँले समय अभावका कारण स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम अपेक्षा गरे अनुरुप हुन नसकेको पनि बताउनुभयाे ।

आयोगको कार्यालय काठमाडौँमा  आज आयोजित  स्थानीय तह निर्वाचन, २०७९ प्रचार प्रसार तथा मतदाता शिक्षा  कार्यक्रम प्रगति समीक्षा कार्यक्रममा प्रमुख आयुक्त थपलियाले पर्याप्त समय नहुँदा मतदाता शिक्षालाई प्रभावकारी रुपमा अगाडि बढाउन नसकिएको बताउनुभयो ।

प्रमुख आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा भएका राम्रा अभ्यासको निरन्तरता र कमीकमजोरीलाई सुधार गरी आगामी निर्वाचनमा मतदाता शिक्षाको प्रभावकारिता अभिवृद्धिमा जोड दिइने जानकारी दिनुभयो ।

प्रमुख आयुक्त थपलियाले सुविधा सम्पन्न र साक्षर भनिएका ठाउँहरूमा समेत मतपत्र बदर भएको भन्नुहुँदै यसो हुनुको कारण र समाधानको उपाय समेत खोज्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधरले निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र भयरहित बनाउन आमसञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुने भन्नुहुँदै आसन्न निर्वाचनका लागि सामाग्री उत्पादन र प्रसारणमा आयोग समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले सामाजिक सञ्जाल मार्फत  निर्वाचन आचार संहिताको उल्लङ्घन गर्ने क्रम बढेको भन्दै त्यसको प्रभावकारी नियमनको खाँचो औँल्याउनुभयो ।

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले पहुँचका आधारमा  मतदाता शिक्षाका सामग्री उत्पादन र सम्प्रेषण गर्ने माध्यमको छनोट गर्नुपर्ने धारणा राख्नुभयो ।

यस्तै नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहले सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यमहरू निर्वाचनका समयमा आयोगसँग निरन्तर समन्वय र सहकार्य गर्न  प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा सरकारी सञ्चार माध्यम सम्बद्ध निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button