तपाईँ सुन्दै हुनुहुन्छः

भदौ २३ गतेदेखि फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ आयोजना हुने

काठमाडौँ । फर्निचरजन्य वस्तुहरूको बजार प्रवर्द्धन गर्ने उद्देश्यले अगामी भदौ २३ देखि २७ गतेसम्म काठमाडौँ को भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ आयोजना हुने भएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजना तथा इभेन्ट सोलुसन प्रालिको व्यवस्थापनमा एक्स्पो आयोजना हुन लागेको हो ।

झण्डै डेढ वर्ष फर्निचरजन्य व्यवसाय ठप्प प्राय रहेको स्थिति सामान्य अवस्थामा फर्किरहेको बेला एक्स्पोले देशमा आर्थिक क्रियाकलापलाई थप चलायमान बनाउन योगदान पुर्‍याउने संघका अध्यक्ष शुभेन्द्र जोशीले बताउनुभयो ।

कोरोना महामारीका कारण पछिल्ला २ वर्षसम्म एक्स्पो आयोजना हुन सकेको थिएन । एक्सपोको आयोजना गर्ने खबरले फर्निचर व्यवसायमा आबद्ध उद्यमी तथा व्यवसायीलाई उत्साहित बनाएको सङ्घले जनाएको छ ।

५ दिनसम्म चल्ने एक्स्पोमा १ सय २० भन्दा बढी स्टल रहने छन् । भान्सा, शयन कक्ष, स्नान कक्षका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्रीहरु एक्स्पोका मुख्य आकर्षण रहने आयोजक पक्षको भनाइ छ ।

एक्स्पोमा भारत बङ्गलादेश, पाकिस्तान लगायत मुलुकका प्रदर्शकहरूले सहभागिता जनाउने र फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

मेलाका लागि साउन २३ गतेसम्ममा स्टल बुकिङ गर्नेहरूलाई कुल लागतमा १० प्रतिशत छुटको व्यवस्था गरिएको इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button