तपाईँ सुन्दै हुनुहुन्छः

महालेखा नियन्त्रकको कार्यालयद्वारा दुई वित्तीय व्यवस्थापन प्रणाली सञ्चालनमा

काठमाडौँ । महालेखा नियन्त्रकको कार्यालयले सङ्घ तथा सातवटै प्रदेशहरूका लागि विकास गरिएका दुई वित्तीय व्यवस्थापन प्रणालीहरू सञ्चालनमा ल्याएको छ ।

file photo

संघीय तहमा महालेखा नियन्त्रकको कार्यालय तथा प्रदेशमा प्रदेश लेखा नियन्त्रकको कार्यालयले सञ्चालन गर्ने गरी वित्तीय व्यवस्थापन प्रणाली (एफएम आइएस) सञ्चालनमा ल्याएको हाे ।

नेपाल सरकार र प्रदेश सरकारका मन्त्रालयहरू, केन्द्रीय निकायहरू विभाग र निर्देशनालयहरुले प्रयोग गर्ने गरी मन्त्रालयगत सूचना प्रणाली (एमएफएम आइएस) तयार गरी साउन दुई गतेदेखि सञ्चालनमा ल्याएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

दुवै प्रणालीको शुभारम्भ गर्दै महालेखा नियन्त्रक सुमनराज अर्यालले तिनै तहका सरकारहरूका प्रतिवेदन तयार पार्न र लेखा प्रणालीलाई थप व्यवस्थित बनाउन सूचना प्रणालीले मद्दत गर्ने बताउनुभयो ।

३ वटै तहका सरकारको समग्र राजस्व, लेखा र समग्र वित्तीय अवस्थाको रिपोर्टिङ गर्ने ती दूबै प्रणाली महालेखा नियन्त्रकको कार्यालयले २७ लाख रुपैयाँको लागतमा निर्माण गरेको हो ।

ती प्रणाली सञ्चालनमा आएपछि सम्वद्ध निकायहरूले एक क्लिक गर्नासाथ सबै रिर्पोट प्राप्त गर्न सक्छन् । नयाँ प्रणालीहरूले सरकारका विभिन्न निकायहरूका रिर्पोटलाई विश्वसनीय र अझ भरपर्दो बनाउन सहयोग गर्ने उपमहालेखा नियन्त्रक भेषप्रसाद भुर्तेलले बताउनुभयो । सो वित्तीय व्यवस्थापन प्रणालीको प्रयोगबाट सङ्घ तथा प्रदेश अन्तर्गतका विभिन्न ५ हजार २ सय कार्यालयहरूलाई अत्याधुनिक लेखा प्रणालीमा जोडेर वित्तीय पारदर्शिता कायम गर्न समेत मद्दत गर्ने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button