तपाईँ सुन्दै हुनुहुन्छः

वालिङमा साल्ट ट्रेडिङको डिपो

वालिङ। कृषकलाई सहजरुपमा मल खाद तथा अन्य सामग्री सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले यहाँ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपो कार्यालय स्थापना भएको छ ।

कार्यालय प्रमुख नगेन्द्र थापाले जिल्लामा पहिलो पटक डिपो खोलिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “डिपो स्थापनासँगै पहिलो चरणमा यहाँका कृषकको मागलाई दृष्टिगत गर्दै अनुदान तथा गैर अनुदानका मल खाद तथा अन्य सामग्री बिक्री वितरण गर्छौँ । ”

पालिकाको बैठकबाट छनोट भई आएका कृषि सहकारी, बहुउद्देश्यीय सहकारी तथा छनोट भएका सङ्घसंस्थालाई डिलरका रुपमा मान्यता दिई सोही मार्फत कृषकलाई मल खाद उपलब्ध गराइने छ ।

डिपोले अनुदानमा युरिया, डिएपी र पोटास उपलब्ध गराउनेछ भने बहुत्वयुक्त मल गैर अनुदानमा बिक्री गर्ने छ । डिपोबाट एसएसपी सादा, जिङ्क, एसएसपी बोरन, एमोनियम सल्फेट गरी चार प्रकारका मलहरू उपलब्ध गराउने प्रमुख थापाले जानकारी दिनुभयो । आगामी दिनमा यहाँका सेवाग्राहीको मागका आधारमा डिपोमार्फत नुन, चिनी लगायतका अन्य सामग्रीहरु सस्तो सुपथ मूल्यमा उपलब्ध गराउने छ ।

सदरमुकाममा रहेको कृषि सामग्री कम्पनीबाट रासायनिक मल ल्याउँदा ढुवानी बढी लाग्ने गरेको महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बुद्धिसागर सुवेदीले बताउनुभयो । डिपो स्थापना भएपछि ढुवानी कम भई मूल्य पनि घट्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button