तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोका कारण अवरुद्ध सडक दुई हप्तापछि सञ्चालन

दमौली। लगातारको वर्षापछि आएको पहिरोले अवरुद्ध बनेको भिमाद–८ स्थित सडक दुई हप्तापछि सञ्चालनमा आएको छ । भिमाद–सिम्ले–भागर हुँदै जरेवर जाने सडक पहिरो हटाएपछि दुई हप्तापछि सोमबारदेखि सञ्चालनमा आएको हो ।

गत जेठ ३१ गते र असार १ गते आएको वर्षाका कारण उक्त सडक खण्डको कल्भुडा चिसापानी भन्ने स्थानमा पहिरो गएको थियो । सडक अवरुद्ध भएको स्थानमा स्काभेटर लगाएर पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा आएको भिमाद–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिनुभयो । यसअघि नै पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिए पनि निरन्तरको वर्षा तथा सम्भावित जोखिमका कारण एक्साभेटर मालिक तथा चालक त्यहाँ कार्य गर्न तयार नभएकाले ढिलाइ भएको उहाँले बताउनुभयो ।

भिमाद नगर प्रमुख मेखबहादुर थापा, नगरपालिकाका सल्लाहकार मनोज खनाल तथा भिमाद–२ का वडाध्यक्ष भवानी शङ्कर लम्सालसहित नगरपालिकाको प्राविधिक सम्मिलित टोलीले स्थलगत रूपमा पहिराको निरीक्षण गरेको थियो ।

अवरुद्ध सडक सञ्चालन नहुँदासम्म सो क्षेत्रमै बसेर कार्य निरीक्षण गर्नुभएका नगरप्रमुख थापाले तत्कालका लागि सडक सञ्चालन भए पनि बर्सातको समय रहेकाले पानी पर्दा पुनः पहिरो गई सडक अवरुद्ध हुने सम्भावना रहेको बताउनुभयो । उहाँले त्यसका लागि दीर्घकालीन योजना बनाउन प्राविधिकलाई निर्देशन दिनुभएको छ । सडक अवरुद्ध हुँदा भिमाद–८ का अतिरिक्त शुक्लागण्डकी नगरपालिकाका सर्वसाधारण मर्कामा परेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button