तपाईँ सुन्दै हुनुहुन्छः

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

दमौली। कोरोना भाइरस न्यूनीकरणका लागि तनहुँमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा छ । चार पटक थप भएको निषेधाज्ञा यही जेठ ३१ गतेसम्म जारी छ । निषेधाज्ञाका कारण जिल्लाका पर्यटकीय स्थल यति बेला सुनसान छ । भिडभाड रहने पर्यटकीय स्थलमा यति बेला पर्यटक छैनन् ।

म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने सर्वसाधारण आकर्षित गरेको छ । निषेधाज्ञाकै बीचमा पनि सर्वसाधारण यस स्थानमा पुगिरहेका छन् । दैनिक १५–२० सर्वसाधारण यस ठाउँमा पुगिरहेका छन् ।

रूखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो । डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा सामुदायिक वनमा हरियाली उद्यानसहित रूखमाथि घर बनाइएको छ । गत फागुनदेखि निर्माण सुरु भएकामा घर निर्माण सकिए पनि उद्यानको काम भने पूरा नसकिएको सब डिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो ।
“जिल्लामै नयाँ भएकाले यस ठाउँ सर्वसाधारणको गन्तव्यका रुपमा विकास भइरहेको छ”, उहाँले भन्नुभयो । उद्यान निर्माणका लागि वन कार्यालयले रु १२ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । त्यसमा सामुदायिक वनले २० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार लागत सहभागिता बेहोरेको छ । कूल १५ लाखको लागतमा उद्यान निर्माणको काम गरिएको हो ।

पृथ्वीराज मार्गबाट दुई सय मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीय स्थल बनाउने उद्देश्यबमोजिम उद्यानका साथै रूखमा घर बनाइएको हो । “उक्त ठाउँलाई पर्यटककको आकर्षणको केन्द्र बनाउन उक्त योजना अगाडि सारेका हौँ”, उहाँले भन्नुभयो, “रूखमा नै घर तनहुँ जिल्लामै पहिलो भएकाले यसले सर्वसाधारणको ध्यान खिच्नेछ ।”

रूखलाई भित्र पारेर काठको घर निर्माण गरिएको छ । “दुई स्टेप बस्न मिल्ने गरी घर निर्माण गरिएको छ, पाँच/सातजना चढेर त्यहाँबाट दृश्यावलोकन गर्न मिल्नेछ”, उहाँले भन्नुभयो । उक्त ठाउँलाई वनभोज स्थलका रुपमा विकास गर्ने योजना छ । राजमार्गबाट नजिकै भएकाले पनि यस ठाउँले चर्चा पाउने विश्वास गरिएको छ ।

डिभिजन वन कार्यालयमार्फत गत आर्थिक वर्षमा जिल्लाका तीन ठाउँमा उद्यान निर्माण गरिएको थियो । भिमाद नगरपालिका–१ किहुँस्थित शिवशक्ति सामुदायिक वन, शुक्लागण्डकी नगरपालिकास्थित च्वयनधाम र व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराहमा पर्यापर्यटन उद्यानका लागि वन कार्यालयले आर्थिक सहयोग गरेको थियो ।

चालु आर्थिक वर्षमा जिल्लामा छवटा उद्यान निर्माण हुँदैछ । हरित पार्क कार्यक्रमअन्तर्गत भिमाद नगरपालिका–८ पीपल डाँडामा रु १२ लाख ५० हजारको लागतमा उद्यान निर्माण गरिनेछ । सामुदायिक वनमा पर्यावरण विकास सहयोग कार्यक्रमअन्तर्गत शुक्लागण्डकी नगरपालिका–१२ स्थित दलिमडाँडा सामुदायिक वन, म्याग्दे गाउँपालिका–१ स्थित वाराही सामुदायिक वनमा उद्यान निर्माण हुनेछ । यसका लागि वन कार्यालयले रु पाँच/पाँच लाख बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button