तपाईँ सुन्दै हुनुहुन्छः

बयालपाटा अस्पतालका लागि प्रदेश सरकारसँग २० करोड माग

अछाम । अछाम, बाजुरा र डोटीका स्थानीय पालिकाका प्रमुखहरूले बयालपाटा अस्पतालका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग २० करोड माग गर्ने निर्णय गरेका छन् । बयालपाटा अस्पतालको सेवा क्षेत्र भित्र रहेका ३ जिल्लाका स्थानीय पालिकाका प्रमुख तथा प्रतिनिधिले अस्पतालको सञ्चालन तथा व्यवस्थापनका लागि प्रदेश सरकारसँग २० करोड रकम माग गर्ने निर्णय गरेका हुन् ।
जनतालाई निःशुल्क सेवा दिइरहेको बयालपाटा अस्पतालका लागि आगामी आर्थिक वर्षमा प्रदेश सरकारले २० करोड रकम विनियोजित गर्नुपर्ने माग बमोजिम निर्णय भएको जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुँवरले बताउनुभयो । ५० बेडको अनुमति प्राप्त अस्पताल प्रदेश सरकारको मातहतमा हुने सरकारको नीतिगत निर्णय बमोजिम बयालपाटा अस्पतालले पनि सोको स्वीकृत प्राप्त गरेकाले यसको व्यवस्थापनको जिम्मा पनि प्रदेश सरकारको रहेको भन्दै बजेट विनियोजित गर्नुपर्ने ३ जिल्लाका पालिका प्रमुखहरूले माग गरेका हुन् ।
यसअघि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको साझेदारीमा न्याय हेल्थ नेपालले सञ्चालन गरिरहेको बयालपाटा अस्पताललाई अब प्रदेश सरकारले संस्था सँग सम्झौता गरेर आर्थिक व्यवस्थापनको जिम्मा लिनुपर्ने उनिहरुको माग छ । उसो त सबै प्रकारका सेवा निःशुल्क प्रदान गर्ने बयालपाटा अस्पताल देशमै नमुना भएको भन्दै सङ्घीय सरकारले समेत यसको अपनत्व लिनुपर्ने माग समेत उठको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले बयालपाटा अस्पतालको लागि नीतिगत रूपमै हरेक बर्ष बजेटको व्यवस्था गरी रातो किताबमा समावेश गर्नुपर्ने र त्यसपछिको अपुग रकम स्थानीय पालिका र संस्थाले गर्ने कुरामा उपस्थित सरोकारवाला एकमत भएका छन् । सञ्चालन र व्यवस्थापन सम्बन्धी प्रणालीगत ऐन, नियम, निर्देशका तथा कार्यविधि बन्नुपर्ने भन्दै उनीहरूले बजेटकै लागि पटक पटक बैठक बस्ने कुराको अन्त्य हुनुपर्ने माग गरेका थिए ।
यस्तै अस्पतालको लागि स्थानीय पालिकाहरूबाट समेत आर्थिक सहयोग गर्ने निर्णय भएको छ । अस्पतालको सेवा क्षेत्र भित्र रहेका अछामका १० वटै पालिका, बाजुराका बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका र डोटीको पूर्वीचौकी गाउँपालिकाबाट आर्थिक सहयोग गर्ने निर्णय भएको हो ।
गाउँपालिकाले कम्तीमा १५ लाख र नगरपालिकाले कम्तीमा २० लाख बजेट विनियोजित गर्नुपर्ने निर्णय गरिएको साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवरले बताउनु भयो । उहाँका अनुसार बाजुराको थप एक गाउँपालिका र डोटीका थप ३ पालिकाकालाई समेत सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button