तपाईँ सुन्दै हुनुहुन्छः

बलिका लागि भारत लैजान लागेको आशङ्कामा सीमा क्षेत्रबाट दुई युवती र एक नाबालकको उद्धार

वीरगंज । मानव बलिका लागि भारत तर्फ लैजान लागिएको आशङ्कामा पर्सा प्रहरीले २ किशोरी, एक नाबालकको उद्धार गरेको छ भने उनीहरूलाई लैजान खोज्ने दुई जना मानव तस्करलाई नियन्त्रणमा लिएको छ ।
तनहुँ जिल्लाको ब्यास नगरपालिकाकी २२ र २० बर्षीया युवती, र उनको २ वर्षीय नाबालक छोरालाई  युवतीको नातामा आमाजू पर्ने सीता थापा क्षेत्री उर्फ सकिना खातुन र उनका श्रीमान् भारतीय नागरिक असुगर सैफीले लकडाउनको समयमा गोर्खाबाट नेपालगंज लैजाने भन्दै वीरगंज ल्याएको र वीरगंजबाट भारतको बेतिया तर्फ लैजान लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोर्खाबाट आएका पीडित युवतीहरूलाई शङ्का लागि स्थानीयसँग सोधपुछ गर्दा बेतिया भारतमा भएको बताएपछि मानव तस्करको पोल खुलेको थियो । घटना विवरण अनुसार केही दिन अघि सकिनाले उनीहरूलाई नेपालगन्जमा एउटा पूजा हुँदैछ र सो पूजामा महिनावारी नभएको दिन एक घण्टा सहभागी भए एक लाख रुपैयाँ पाइन्छ भन्दै दुई युवतीलाई लिएर टिपर मार्फत वीरगंज आई पुगेको प्रहरी समक्ष पीडितहरूले बताएका छन् ।
पूजामा सहभागी भएबापत पैसा पाउने प्रलोभनमा आएका दुई युवती १७ गते वीरगंजस्थित एक होटलमा बसेको र १८ गते बिहान रक्सौल हुँदै भारत जाने क्रममा युवतीहरूलाई शङ्का लागेपछि  उनीहरूले रिचार्ज किन्ने बहानामा वीरगंजको एक पसलमा आफूहरूको उद्धार गर्न आग्रह गरेका थिए ।
पीडितको आग्रह पछि स्थानीयले दुई युवती, एक बालक र सकिना दम्पतीलाई नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका थिए । प्रहरीले पीडित दुई युवती र नाबालकलाई मानव बेचबिखन विरुद्धमा काम गरिरहेको संस्था आफन्त नेपालको संरक्षण गृहमा पठाएको र घटनाको बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले दुई युवतीसहित नाबालक उद्धार भएको घटनामा मानव बलीकै लागि भारत लैजान लागिएको शङ्का उब्जिएको बताउँदै  ‘लकडाउनको समयमा गोर्खा देखि वीरगंज सम्मको बाटो यात्रा गर्नु र पूजामा सहभागी हुने भनेर बताउनुले मानव बलीका लागि हो कि भन्ने आशङ्का उब्जिएको र यस सम्बन्धमा थप अनुसन्धान भई रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button